पाल्पा:= मगर समुदायको बाहुल्यता रहेको पाल्पामा आइतबार सार्वजनिक बिदा दिइएको छ । ४०औँ राष्ट्रिय मगर एकता दिवसका अवसरमा यहाँका स्थानीय तहहरूले सार्वजनिक बिदा दिएका हुन् । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झन अर्थात् नेपाल मगर संघको स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइने गरिन्छ । ५२ प्रतिशत मगर समुदाय रहेको पाल्पामा आइतबार भव्य साँस्कृतिक कार्यक्रमहरू हुँदैछन् ।
मगरहरूको सांगठनिक पर्वका रूपमा यो दिवसलाई लिने गरिन्छ । जसका कारण मगरको बाहुल्यता रहेका यहाँका स्थानीय तहहरूमा दिवसको दिन सार्वजनिक बिदा दिइएको छ। यहाँका माथागढी गाउँपालिका, रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, तिनाउ गाउँपालिका, रिब्दीकोट गाउँपालिका, बगनासकाली गाउँपालिका, रम्भा गाउँपालिका र तानसेन नगरपालिकाहरूले सूचना जारी गर्दै बिदाको घोषणा गरेका छन् । निस्दी गाउँपालिकाले १५ र १६ गते दुई दिन बिदा दिएको सूचनामा उल्लेख छ ।
बिदा घोषणा गरेका अन्य पालिकाले भने एक दिन दिवसका दिनमात्र सार्वजनिक बिदा दिएका छन् । यहाँका स्थानीय तहले फागुन १५ गते आइतबारका दिन स्थानीय तहका सम्पूर्ण कार्यालयहरू, गाउँ/नगर कार्यपालिका मातहतका वडा कार्यालयहरू, सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य संस्था र अन्य सार्वजनिक संघसंस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
राष्ट्रिय मगर दिवसका अवसरमा यहाँका विभिन्न स्थानमा मगरी संस्कृतिमा आधारित झाँकी प्रदर्शनसहितका कार्यक्रमहरू हुनेछन् । पछिल्लो समय विभिन्न कारणले लोपोन्मुखरूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडालगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगरभाषा तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन जिल्लाका मगर समूह, संघसंस्थाले विभिन्न किसिमका कार्यक्रम गर्ने मगर संस्कृति संरक्षणका अभियन्ता सन्तोष थापा मगरले बताउनुभयो ।
मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि यहाँका मगर समुदाय विगतदेखि नै जुट्दै आएका छन् । पाल्पामा ५२ प्रतिशतभन्दा धेरै मगरहरूको बसोबास रहेको छ। २०३९ साल फागनु १५ गते नेपाल लाङ्घाली परिवार संघको प्रथम अधिवेशन सम्पन्न भएको सम्झनामा मगर समुदायले मगर दिवसका रूपमा मनाउन सुरु गरेका हुन् ।




















