रूस- युक्रेन तनाव दोस्रो दिन शुक्रवारपनि आक्रमण जारी, राजधानीमै पुग्यो रूसी सेना।

एजेन्सी := यहीँ बिहीबार बिहानदेखि रूसले युक्रेनमा आक्रमण सुरु गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशसँगै जल, स्थल र हवाई सेनाल युक्रेनका विभिन्न शहरमा आक्रमण थालेका हुन् । आक्रमण शुक्रबार पनि जारी रह्यो । शुक्रबार अबेर यो समाचार तयार पार्दासम्म रूसी आक्रमणका कारण कम्तीमा १४० जनाको ज्यान गएको छ ।

युक्रेनी सैनिकसहित कम्तीमा १४० नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । समाचारमा जनाइएअनुसार रूसी सेनाको आक्रमणबाट युक्रेनी सेनासहति १३७ नागरिकको मृत्यु भएको हो । युक्रेनी आन्तरिक मामिला मन्त्रालयका एक अधिकारीले रूसी सेनाले दर्जनौैं गैरसैनिक स्थललाई निसाना बनाइरहेको बताए । तर, यो संख्या धेरै भएको अपुष्ट समाचारहरू सार्वजनिक भइरहेका छन् ।

रूसी फौज तीव्र रूपमा उत्तर, पूर्व र दक्षिणतिरबाट राजधानी किएभतर्फ बढिरहेका छन् । आक्रमणको दोस्रो दिन रूसी फौज युक्रेनको राजधानी किभमा प्रवेश गरेको छ । राजधानी किभको उत्तरी जिल्लाहरूमा रूसी सेना प्रवेश गरेको युक्रेनले जनाएको हो । भिडियोहरूमा किभको उत्तरी जिल्ला हुँदै बख्तरबन्द गाडीहरू अगाडि बढिरहेको देखिन्छ । त्यहाँका बासिन्दाहरूले भूमिगत रेल्वे स्टेसनमा आश्रय लिएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार रूसी आक्रमणकारीहरू शहरभित्र पहिल्यै पुगिसकेका छन् ।

युक्रेनको प्रमुख बन्दरगाह सहर ओडेसा र मरिउपोलमा पनि रूसी नौसेना पुगेका छन् । त्यस्तै, राजधानी किभस्थित बोरिस्पिल अन्तर्राष्ट्रिय विमानस्थलस्थित सैनिक अखडा, सैनिक मुख्यालय तथा किभ, डिनिप्रो र खर्किभस्थित सैनिक गोदामहरूमा पनि रूसी सेनाले आक्रमण गरेको छ ।

आक्रमणबाट बच्न हजारौं स्थानीयले थातथलो छाडेका छन् भने कतिपय मेट्रो स्टेसनमा बास बसिरहेका छन् । एटिएम, विमानस्थल र सडकमा समेत जाम छ । बिबिसीका अनुसार रूसी सेनाले युक्रेनका पूर्व, उत्तर र दक्षिणतर्फबाट आक्रमण सुरु गरेको हो । हवाई सेनाले क्षेप्यास्त्र तथा बम प्रहार गरिरहेको छ । युक्रेनको राजधानी किभसहित १२ स्थानलाई लक्षित गर्दै रूसी सेनाले आक्रमण तीव्र पारेको छ ।

युक्रेनी सेनाले आफ्नो जवाफी कारबाहीमा रूसी सेनातर्फ ठूलो क्षति पुगेको दाबी गरेको छ  । रूसका कम्तीमा ५० सैनिक मारिएको उसको भनाइ छ  । बिबिसीका अनुसार राजधानी किभका थुप्रै बासिन्दा शहर छोडेर भागिरहेका छन् । आपत्कालीन संकेतस्वरूप साइरन बज्न थालेपछि स्थानीय बासिन्दा किभबाट बाहिरिन थालेका हुन् ।

युद्धविराम गर्न रूसलाई युक्रेनी राष्ट्रपतिको अपिल

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसलाई युद्धविराम गर्न अपिल गर्नुभएको छ । युक्रेनी समयअनुसार शुक्रबार बिहान साढे सात बजे भिडियो सम्बोधन गर्दै युक्रेनी र रूसी दुवै भाषामा यस्तो अपिल गर्नुभएको हो । ‘कसरी शत्रुता अन्त्य गर्ने र यो आक्रमण रोक्ने बारेमा ढिलोचाँडो रूसले हामीसँग कुरा गर्नैपर्छ,’ उहाँले भन्नुभएको छ, ‘जति चाँडो कुराकानी सुरु हुन्छ, रूसको क्षति कम हुनेछ ।’ उहाँले आक्रमण नरोकिएसम्म आफ्नो देशको रक्षा गर्ने बताउनुभएको छ ।

आक्रमणको चौतर्फी निन्दा

युक्रेनमा रूसले गरेको आक्रमणको अन्तर्राष्ट्रिय समुदायबाट कडा आलोचना एवं निन्दा भइरहेको छ । अमेरिका र साझेदार मुलुकले रूसी आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा हिंसा अन्त्य गर्न आग्रह गर्नुभएको छ । मोदीले पुटिनसँग टेलिफोन कुराकानी गर्दै हिंसाको तत्काल अन्त्यको अपिल गर्दै कूटनीतिक वार्ता र संवादको बाटोमा फर्कन सबै पक्षबाट ठोस प्रयासका लागि आह्वान गर्नुभएको हो ।

रूसले पूर्ण मात्रामा आक्रमण गरेपछि युक्रेनमा भएका घटनाक्रमहरूप्रति आफू थप चिन्तित भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजक करिम खानले बताउनुभएको छ । ‘मैले बढ्दो चिन्ताका साथ युक्रेन र वरपरका घटनाक्रमहरू नजिकबाट नियालेको छु,’ खानले एक विज्ञप्तिमार्फत बताउनुभएको छ, ‘यो अत्यावश्यक छ कि द्वन्द्वका सबै पक्षहरूले अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत आफ्नो दायित्वहरूको सम्मान गर्दछ ।’

संयुक्त राष्ट्रसंघ महासभाको ७६औँ सत्रका अध्यक्ष अब्दुल्ला शाहिदले युक्रेनमा शान्तिपूर्ण माध्यमबाट तत्काल युद्धविराम र विवाद समाधान गर्न आहृवान गर्नुभएको छ । ‘म तुरुन्त युद्धविराम, तनाव कम गर्न र कूटनीति र वार्तामा फर्किनका निम्ति आहृवान गर्दछु,’ अध्यक्षले विज्ञप्तिमार्फत् यस्तो आग्रह गर्नुभएको हो ।

संयुक्त राष्ट्रसंघको बडापत्र सार्वभौम समानताको सिद्धान्तमा आधारित रहेको कुरामा जोड दिँदै शाहिदले सबै सदस्य राष्ट्रहरूलाई आफ्ना अन्तर्राष्ट्रिय विवादहरू शान्तिपूर्ण माध्यमबाट समाधान गर्न आह्वान गर्नुभएको हो ।

नेटोले युक्रेनमा सेना नपठाउने

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले युक्रेनभित्र सेना नपठाउने भएको छ । नेटोका महासचिवले युक्रेनमा सेना नपठाउने जानकारी दिनुभएको हो । उहाँका अनुसार नेटोले आफ्ना सेनाहरू स्वतन्त्रताको खोजी गरिरहेका युक्रेनका पूर्वी भूभागका दुई शहरमा पठाउन सक्ने तर युक्रेनभित्र नै सेना नपठाउने निर्णय गरेको हो ।

बिहीबार बसेको नेटोको आपतकालीन बैठकमा सो निर्णय भएको नेटोका महासचिव जेन्स स्टोल्टबर्गले जानकारी दिनुभएको छ । उहाँले यस विषयमा छलफल भएको र अहिले नै नेटोले युक्रेनमा रहने गरी सेना नपठाउने विषयमा निर्णय भएको जानकारी दिनुभएको समाचारमा जनाइएको छ । साथै सो बैठकले रूसलाई युक्रेनमाथिको आक्रमण तुरुन्त रोक्न र रूसी सेना फिर्ता गर्न पनि आग्रह गरेको छ ।

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन एनआरएनएको आग्रह

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युक्रेनमा पछिल्लो विकसित घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीहरूको सुरक्षाप्रति चिन्ता व्यक्त गरेको छ । त्यहाँ रहेका ३८ जना नेपाली एनआरएनए युक्रेनको सम्पर्कमै रहेको र सुरक्षित रहेको एनआरएनएले जनाएको छ ।

उनीहरू विगत लामो समयदेखि युक्रेनमै बसोबास गर्दै आएका छन् । एनआरएनका अनुसार युक्रेनमा ४४ विद्यार्थी र ट्रान्जिटमा दुई सयभन्दा बढी नेपाली रहेको जानकारी प्राप्त भएको एनआरएनए प्रवक्ता डिबी क्षेत्रीद्वारा जारी पे्रस विज्ञप्तिमा उल्लेख छ । एनआरएनले नेपालीहरूलाई युक्रेनमा रहेका नेपालीहरूलाई सुरक्षित र अवस्थाको आँकलन गरी स्वदेश फर्किन आग्रहसमेत गरेको छ ।

रूस-युक्रेन युद्धको प्रभाव

रूसले युक्रेनमा आक्रमण सुरु गरेसँगै अन्तर्राष्ट्रिय बजारमा विभिन्न खालका प्रभावहरू देखा पर्न थालेका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल सय डलरमाथि पुगेको छ । यो सन् २०१४ यताकै बढी हो । तनावको असरका कारण एसियाली सेयर बजारमा दुईदेखि चार प्रतिशतले गिरावट आएको छ । त्यस्तै, सुनको भाउ एक वर्षयताकै उच्च बिन्दुमा पुगेको छ भने अमेरिकी डलर र जापानी येन बलियो देखिएका छन् ।

विश्व बजारमा रूस–युक्रेन तनावका असर देखिरहँदा नेपालमा पनि यसको प्रभाव पर्न सक्ने विज्ञहरू बताउँछन् । नेपाली बजारमा हुने खपतमा ठूलो हिस्सा आयातको रहेका कारण पनि अर्थतन्त्रमा सामान्य प्रभाव पर्न सक्ने विज्ञहरूको भनाइ छ । विश्व बजारमा रूस ठूलो परिमाणमा तेल र ग्यास कारोबार गर्ने राष्ट्रमध्ये एक हो ।

हाल अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य हेर्दा नेपालका लागि अबका दिनमा लगभग १०० अर्बको अतिरिक्त भार पेट्रोलियम पदार्थ आयातमा थपिन जाने अर्थविद्हरूको बुझाइ छ । पेट्रोलियम पदार्थ महँगोमा खरिद गर्नुपरेको अवस्थामा त्यसले बजारमा महँगी बढाउने जानकारहरू बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा देखिएको प्रभाव कम गर्न नेपालले पेट्रोलियम पदार्थको उपभोग कटौती गर्न सक्ने विज्ञहरू बताउँछन् । (एजेन्सीहरूको सहयोगमा)