नयाँ नेपाली चलचित्र ‘चिसो एष्ट्रे’को ट्रेलर सार्वजनिक।

काठमाडौं:= आउँदो चैत ४ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘चिसो एष्ट्रे’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंको कुमारी हलमा आयोजित एक औपचारिक कार्यक्रममा फिल्मको तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

दिन्स पाल्पालीले निर्देशन गरेको चलचित्रमा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नवीन लम्साल र रविन तामाङको मुख्य भूमिका छ । फिल्म निर्माता महेशबाबु तिमल्सिनाले भने आफूले नेपालमा हेर्न चाहेका सिनेमा बनाउने अभिलाषामा फिल्म निर्माणमा संलग्न भएको बताउनुभएको छ।

‘नेपाली सिनेमा हेर्दा सधैं केही न केही छुटेजस्तो भइरहन्थ्यो । नछुट्ने गरी बनाउन त भन्ने सपनामा यो फिल्म तयार भएको हो,’ उहाँले भन्नुभयो, ‘यो फिल्ममा पनि कमजोरी छैनन् भनेर भन्दिनँ म । तर हामीले एउटा इँटा थप्ने मनसायले नै यो फिल्म बनाएका छौँ ।’

अभिनेत्री सृष्टि श्रेष्ठले फिल्मभित्र शालीनताको चरित्रको निर्वाह गर्नुभएको छ । दिन्स पाल्पालीकै लेखन रहेको फिल्ममा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त व्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गर्नुभएको हो ।

निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाउनुभएको छ । चलचित्रको सहनिर्मातामा भने रूपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा रहनुभएको छ । उज्जल बस्ताकोटीको छायांकन रहेको चलचित्रमा उज्ज्वल ढकालले सम्पादन छ ।