ब्राजिलमा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या १७६ पुग्यो, १ सय जना बेपत्ता।

ब्रासिलिया:= ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण बाढी र पहिरोका परी मृत्यु हुनेको संख्या १७६ पुगेको स्थानीय अधिकारीले जनाएका छन् । रियो डि जेनेरियो राज्यबाट ६८ किलो मिटर उत्तरमा अवस्थित पेट्रोपोलिस नगरपालिकामा जारी यस बाढीमा परेर अरू कम्तीमा एक सय जना अझै हराइरहेका उनीहरूले जानकारी दिएका छन् । माटोमा पुरिएका मानिसहरूको खोजीमा उद्धार टोलीहरू दिनरात खटिरहेका छन् ।

यहाँ गएको करिब सात दिनदेखि वर्षा र त्यसका कारण बाढी पहिरोको प्रकोप जारी नै रहेको बताइएको छ । यहाँका स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार व्यापक वर्षाका कारण सडक बन्द भएका छन् र भने ठूलो मात्रामा भौतिक सम्पत्तिमा क्षति पुगेको छ ।

यसबाट हजारौं मानिस प्रभावित बनेका अधिकारीले जनाएका छन् । यहाँका उद्धारकर्मीको भनाइ अनुसार सबैभन्दा बढी क्षति पेटोपोलिस शहरमा भएको छ । यहाँ सन् १९३२ पछिको सबैभन्दा बढी वर्षा भएको हो । वर्षाका कारण यहाँ मानवीयका साथै अन्य भौतिक सम्पत्तिमा पनि क्षति पुगेको बताइएको छ । विशेषज्ञहरूको भनाइ अनुसार जलवायु परिवर्तनको प्रभावले अहिले भारी मात्रामा वर्षा बढाइरहेको छ ।