प्रहरीमा उजुरी परेपछि पल शाह फरार, प्रहरी भन्छन्: हामी खोजिरहेका छौं,पक्राउ गर्छौं।

पल शाहले १७ वर्षीया गायिकामाथि पटक -पटक बलात्कार गरेको पीडित पक्षको आरोप

तनहुँ := जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको जाहेरी परेपछि कलाकार पल शाह (पुर्ण विक्रम शाह) फरार , बेपत्ता भएका छ्न। यता प्रहरीले फरार कलाकार शाहको खोजी गरिरहेको छ।

१७ वर्षीया नाबालिक गायिका समीक्षा अधिकारीका परिवारसंगै तनहुँमा बुधबार बलात्कारको जाहेरी दिएपछि खोजी सुरू गरिएको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले बताए। ‘उजुरी आएपछि हामीले थप अनुसन्धान थालेका छौं,’ खड्काले सेतोपाटीलाई भने, ‘पल शाहको खोज-तलास सुरू गरिसकेका छौं, फेला पर्नेबित्तिकै पक्राउ गर्छौं।’

तनहुँमा जाहेरी परेकाले शाहलाई दमौली लगेर बयान लिने उनले बताए। उजुरी आएपछि अनुसन्धानका क्रममा पक्राउ गर्नुपर्ने भन्दै उनले भने, ‘पक्राउ पनि अनुसन्धानकै पाटो हो, सँगसँगै जान्छ।’ शाहलाई पक्राउ गर्न तनहुँ प्रहरीले काठमाडौं प्रहरीलाई पनि जानकारी गराइसकेको छ।

जाहेरीमा कलाकार शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिगमाथि पटक पटक करणीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा करणी गरेको उल्लेख गरिएको छ । विगत अन्दाजी ३ महिना अगाडिदेखि एकोहोरो जस्तो बस्ने गर्दै आइरहेकीले नाबालक छोरीलाई के भएछ भनी परिवारले कर गर्दा करणीकाे कुरा खुलाएको जाहेरीमा उल्लेख छ । यस्तो छ जाहेरीमा उल्लेख विवरण :

निज पूर्ण विक्रम शाह (पल शाह) ले देखावटी रुपमा माया प्रेम गरेको बहाना गरी भिडियो सुटिङ तथा अन्य भेटघाटको क्रमलाई बढाउँदै लगी धेरै नै रेखदेख, हेरचाह गरेजस्तो गर्दै आएका रहेछन् । निज पूर्ण विक्रम शाह र मेरी नाबालिका छोरीले संयुक्त रुपमा धेरै म्युजिक भिडियोमा सँगै मोडलको रूपमा काम गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकेर राति होटलहरूमा बास बस्ने क्रममा पटक पटक जबरजस्ती करणी गर्न खोजेकोमा छोरीले असहमति जनाएका कारण सफल हन नसकेको रहेछ ।

यस क्रममा २०७७/१२/३१ गते बागलुङ जिल्लाको गलकोट महोत्सवमा प्रतिवादी पूर्ण विक्रम शाह, दुर्गेस थापासमेतका कलाकारहरूसँग मेरी नाबालक छोरी एकै गाडीमा बागलुङको गलकोट गएकोमा उक्त स्थानमा जाँदा र फर्कँदा निज प्रतिवादी र मेरी छोरी एकै सिटमा यात्रा गर्दाको बखत समेत बाल यौन दुरुपयोग गरी संवेदनशील अङ्गमा चलाउने, जिस्काउने , समात्ने जस्ता कार्य समेत गरेको

र मिति २०७८/०१/०२ गते काठमाडौँ पुगी छोरी आफ्नो कोठामा गई बसिन्, र काठमाडौँको बसाईमा सामान्य भेटघाट समेत गर्दै आइरहेका रहेछन्, त्यसपछि छोरी घरमा आई १ हप्ता जति बसे पश्चात् निज प्रतिवादी पूर्ण विक्रम शाह (पल शाह) ले फोन गरी सुटिङको लागी म पोखरा आउँदै छु, तिमीलाई म भेट्छु, भनी पोखरा स्थित लेकसाईडमा भेटघाटको लागी बोलाई भेटघाट गरी लकडाउनको हल्ला चलेको हुँदा छोरी पनि काठमाडौँ जानु पर्ने भएको हुँदा मिति २०७८/०१/१४ गते साँझ १९:०० बजे पोखराबाट काठमाडौँ फर्किने क्रममा जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका न.पा वडा नं. ४ दुलेगौडा स्थित प्रतिवादीको चिनजानको व्यक्ति प्रदीप थापाको घरमा बसेका अवस्था नाबालिका छोरी दिन भरीको थकानले खाना खाएपछि उक्त घरको दोस्रो तलामा सुत्न गएकी र प्रतिवादी पूर्ण विक्रम शाह र कमल खत्री भन्ने व्यक्ति सोही घरको छुट्टै कोठामा राती अन्दाजी ११ बजेसम्म रक्सी खाएर बसेको र राती अं. १२ बजे तिर निज प्रतिवादीले छोरीको म्यासेन्जरमा म तिम्रो कोठामा आउँछु भनेर म्यासेज गरेको र तुरुन्तै छोरीको कोठा ढक ढक गर्न आएका रहेछन् ।

छोरीले कोठा खोलिदिए पश्चात् निज प्रतिवादी छोरी सतेको कोठामा आएर छोरीलाई ललाई फकाई माया प्रेम गरेको बहाना बनाइ तिमीले काठमाडौँको कोठा सर्नपर्‍यो म तिम्रो कोठामा दिन दिनै आउँछु, तिम्रो बारेमा नराम्रो कुरा सुने भने मैले राम्रो मान्दिनँ भनी उमेर पुगे पछि विवाह गर्छु धोका दिन्न भन्ने विश्वास दिलाई छोरीको असहमति हुँदा हुँदै पनि जबर्जस्ती करणी गरेका रहेछन् ।छोरीलाई माया गरेको देखाउनुको लागि वारदातको भोलिपल्ट ढोर वाराही मन्दिर समेत घुमाई, दलेगौंडाको सुटिङ सकेर काठमाडौँ गएका रहेछन् ।