आजदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्ने।

आन्दोलनरत स्थानीय र ठेकेदार कम्पनीबीच सहमति

[ डिबी शर्मा ] 

काठमाडौं:= बिहीबारदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्ने भएको छ । फागुन १ गतेदेखि उठ्न नसकेको फोहोर बिहीबारदेखि उठाउन थालिने काठमाडौं महानगरको वातावरण विभागकी प्रशासनिक प्रमुख सरिता राईले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार आन्दोलनरत पक्षका माग सम्बोधन गर्न सहमति भएको हो ।

हाल फोहोर बिसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहोर फागुन १ गतेदेखि उठ्न सकेको थिएन । बुधबार बाटो निर्माणको काम गरिरहेको ठेकेदार कम्पनी र आन्दोलनरत स्थानीयबीच सहमति भएपछि फोहोर उठाउन बाटो खुल्ने भएको हो । ठेकेदार कम्पनीले बाटो समयमै मर्मत गर्ने लिखित प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो ।

‘बुधबार ११औँ दिनमा सहमति भएको छ । आन्दोलनरत पक्षका माग सम्बोधन गर्न ठेकेदार कम्पनी सहमत भएको छ । बिहीबारबाट फोहोर पठाइदिने सहमति भएको छ,’ राईले भन्नुभयो, ‘बिहीबारदेखि उठाउन थाल्छौँ ।’

११ दिनदेखि थुप्रिएको फोहोर एकैचोटि भने उठ्ने छैन । उहाँका अनुसार बिहीबारदेखि यसअघि नै लोड गरेर राखिएका फोहोरका गाडी पठाइनेछ । ती गाडी सँगसँगै केही ठाउँको फोहोर बिहीबारदेखि नै उठान थालिनेछ । ‘बिहीबारदेखि फोहोर पठाउन थाल्छौँ । ११ दिन थुप्रेको सबै फोहोर जान समय त लाग्छ,’ उहाँले भन्नुभयो, ‘पालैपालो पठाउँछौँ ।

कुल क्षमताअनुसार उठाउन सुरु गर्ने हो । अस्ति नै देखि लोड भएका गाडीहरू छन् । सुरुमा ती जान्छन् । ती फर्किएपछि थप गाडीहरू फोहोर लिएर जानेछन् ।’ ११ दिनदेखि फोहोर बिसर्जन हुन नसक्दा उपत्यकाको मुख्य चोकमा फोहोर थुप्रिएको छ । सहरका चोक र गल्लीमा दुर्गन्ध फैलिएको छ ।

आठ वर्षमा पनि बाटो बन्न नसक्दा पटक-पटक समस्या

२०७० सालदेखि सुरु गरिएको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटक–पटक स्थानीयबासीले आन्दोलन गरेकाले फोहोर बिसर्जनमा अवरोध हुँदै आएको छ । महानगरपालिकाले सडक विभागलाई सडकको काम तत्काल पूरा गरी स्थानीयवासीको अवरोध हटाइदिन माग गर्दै आए पनि समयमै काम सम्पन्न नहुँदा पटक–पटक समस्या आउने गरेको छ ।

१८ स्थानीय तहको फोहोर बिसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख राईको भनाइ छ । हाल बञ्चरे डाँडामा दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माण भइरहेको र निर्धारित समयमा काम सम्पन्न नहुँदा समस्या भएको उहाँको भनाइ छ ।

काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । उक्त स्थान पनि भरिएकाले फोहोर व्यवस्थापनमा थप समस्या हुन थालेको हो । हाल फोहोर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माणको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाको भनाइ छ ।

समस्या फेरि दोहोरिन सक्ने

काठमाडौं उपत्यकामा फोहोर उठ्न नसक्ने समस्या नौलो होइन। बेलाबेलामा स्थानीयको अवरोधका कारण फोहोर थुप्रिने गरेको छ । यसपटक पनि ११ दिन थुप्रिएको फोहोर बिहीबारदेखि उठ्ने भएको छ । तर, त्यो कहिलेसम्म भन्ने यकिन छैन । ठेकेदार कम्पनीले गरेको प्रतिबद्धता पूरा नभए पुनः अवरोध गर्ने आन्दोलनरत पक्षले लिखितै सहमति गरेका छन् ।

वातावरण विभाग प्रमुख राईका अनुसार बाटो मर्मत नभएको खण्डमा फेरि आन्दोलन गर्ने स्थानीयले चेतावनी दिएका छन् । ‘बाटो मर्मत नभएको खण्डमा फेरि आन्दोलन गर्ने चेतावनी स्थानीयले दिएका छन्,’ उहाँले भन्नुभयो, ‘ठेकेदार कम्पनीले जसरी पनि यसपटक मर्मत गर्छु भन्ने प्रतिबद्धता जनाएको छ । अन्यथा कानुनबमोजिम सजाय भोग्न तयार रहेको भनेर पनि लिखित सहमति गरिएको छ ।’ काठमाडौं उपत्यकामा दैनिक एक हजारदेखि १२ सय टनसम्म फोहोर निस्कने गरेको महानगरपालिकाले जनाएको छ ।