रियो दि जेनेरियो:= ब्रजिलको पेट्रोपोलिस शहरमा गएको बाढी पहिरोमा अझै दुई सयजना हराइरहेका विवरण सार्वजनिक भएका छन् । मुसलधारे बर्षाका कारण आपत्कालीन समूहहरूलाई बाढीमा फसेको व्यक्तिको उद्दारमा कठिनाइ भएको छ । बाढी पहिरोमा पुरिएका व्यक्तिको जीवितै उद्दारको आशा अब हराउन थालेको समूहहरूले बताएका छन् ।
बाढीमा २७ बालबालिकासहित १४६ जनाको मृत्यु भएको र १९१ जना अझै हराइरहेका अधिकारीले बताएका छन् । ९०० भन्दा बढीलाई विद्यालय र आश्रयहरूमा राखिएका छन् । शनिबार कामदारहरूले बाक्लो कुहिरोमा भग्नावशेष र हिलोबाट कोदालो र बेल्चाले खनेका थिए । उद्दार कार्यमा स्वयंसेवकहरूको समूहले पनि सहयोग गरेको छ ।

केही क्षेत्रमा हाते औजारले खोतलेर हराइरहेका व्यक्तिको खोजी भइरहेको छ । उद्दारमा ४२ वटा सुँघ्ने कुकुरहरू परिचालन गरिएका छन् । ‘यहाँ ठूला औजार ल्याउन असम्भव छ,’ स्थानीय अग्नि विभागको विशेष उद्दार समूहका संयोजक रोबेर्टो अमरालले भन्नुभयो, ‘त्यही भएर हामीले कमिलाले जस्तै काम गरेका छौं ।’




















