काठमाडौं:= नयाँ चलचित्र ‘हनी बनी’को प्रदर्शन मिति घोषणा गरिएको छ । अभिनेता अनमोल केसी र सलोन बस्नेतको मुख्य भूमिका रहने यो चलचित्र आगामी वर्षको दशैँ अर्थात् असोज १४ गतेबाट देशभरका सिनेमा घरमा रिलिज हुने बताइएको छ ।
दीवाकर भट्टराईको निर्देशक रहने चलचित्रका लागि हाल मुख्य अभिनेत्रीको छनोट भइरहेको छ । मार्चबाट फ्लोरमा जाने चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन रहनेछ । अधिकांश छायांकन लण्डनमा गरिनेछ । चलचित्रमा अभिनय गर्ने अन्य कलाकारको पनि चाँडै टुंगो लाग्ने निर्माता अजितकुमार थापाले बताउनुभएको छ ।
एबी इन्टरनेशलको प्रस्तुति रहने चलचित्रमा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटले सहकार्य गरेका छन् । अमित बस्नेत, अजित के.आर थापा र परी राना निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा अंकित गौतम हुनुहुन्छ । बेलायतमा छायांकन हुने चलचित्रको लागत सात करोड अनुमान गरिएको छ ।
यही टिमले निर्माण गरेको चलचित्रमा ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छन् । चलचित्रको चाँडै नयाँ रिलिज मिति घोषणा गरिनेमा निर्माण टिमले जनाएको छ । पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका रहेको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्नुभएको हो ।




















