लिम्बू भाषाका कलाकर्मीलाई ‘एफएलएफ अवार्ड’

काठमाडौं:= लिम्बू भाषा, संस्कृतिमा बनेका फिल्म, म्युजिक भिडियो र पालामको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड २०७८’ सम्पन्न भएको छ । नेपाल चलचित्र विकास बोर्डको हलमा सम्पन्न अवार्ड समारोहमा प्रमुख अतिथिको रूपमा नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ रहनुभएको थियो ।

अवार्डमा लिम्बू फिल्म ‘थिम’ले ‘इन्करेजमेन्ट अवार्ड’ प्राप्त गरेको छ । लिम्बू म्युजिक भिडियोतर्फ निर्देशक सागर केरुङ, गायक संगम लिम्बू, गायिका मिलन नेवार, नायक (मोडल) विशाल सेनेहाङ, नायिका (मोडल) रूपा आङबुहाङ, गीतकार विष्णु इङ्नाम, संगीतकार संगम लिम्बू र छायांकनमा इशक जबेगुले अवार्ड प्राप्त गर्नुभयो ।

त्यस्तै नवनायकमा सञ्जीब थेबे र नवनायिकामा विमला खजुम उत्कृष्ठ ठहरिनुभयो । त्यसैगरी लिम्बू पालाम विधातर्फ गायक जीवन केदेम, गायिका मनु नेम्वाङ, नायक (मोडल) भीम थेबे, नायिका (मोडल) लक्ष्मी योङहाङ, गीतकार रीता ठूली फोम्बो, संगीतमा तेज मेन्याङबो, छायांकनमा युवराज राई र निर्देशनमा हाङ चेम्जङले अवार्ड पाउन सफल हुनुभयो ।

वर्षको सबैभन्दा बढी म्युजिक भिडियो निर्देशन गर्ने उत्कृष्ट एवं सफल (ब्रेक थ्रो) अवार्ड निर्देशक लोकेन साँबाले प्राप्त गर्नुभयो भने उत्कृष्ट भिडियो आन्छी मिम आफाल्ले मेसिनेन, उत्कृष्ट संस्कृति भिडियो मुकुम्लुङ, डायसपोरा अवार्ड हेमराज अन्छाङ्बो, एप्रिसिएसन अवार्ड नरेश लिम्बू र उत्कृष्ट मातृभाषा गायनमा डिआर हाङसरुम्बाले हात पार्नुभयो ।

फाल्गुनन्द लिङ्देन फिल्मस् आयोजक रहेको यस कार्यक्रममा सफल निर्देशक दीपाश्री निरौलालाई एफ. एल.एफ.विशेष सम्मान गरिएको थियो भने यासेली योङहाङ र विनोद सेरेङलाई जुरी सम्मान गरिएको थियो । कार्यक्रममा लाइफ टाइम एचिभमेन्ट निर्माता निर्देशक तथा गायक हस्त लिवाङलाई प्रदान गरिएको थियो । कार्यक्रममा मिलन नेवार, रुकसना लिम्बू, विशाल सेनेहाङ, नुमा शेर्पा, मनिषा राईको प्रस्तृति रहेको थियो ।