काठमाडौं := प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसिसी संसद्मा ल्याउन ढिलो गर्दा अहिलेको अवस्था सिर्जना भएको टिप्पणी गर्नुभएको छ ।
सरकारले एमसिसी संसद्मा टेबल गरेपछि संसद् भवनमा एमालेका केही सांसदहरूसँगको छलफलमा अध्यक्ष ओलीले एमसिसी संसद्मा ल्याउन ढिलाइ गर्दा नेपाल विदेशी शक्तिको क्रिडास्थल बन्न पुगेको टिप्पणी गर्नुभएको हो ।
छलफलमा सहभागी एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै भन्नुभयो, ‘विदेशीको क्रिडास्थल भएपछि बल्ल एमसिसी संसद्मा आयो । यस विषयमा अमेरिका, चीन बोल्नुपर्ने अवस्थामा आयो ।
एमसिसीको पहिले नै निर्णय गरेको भए अहिलेको अवस्था आउने थिएन, अहिले सडकमा जुन प्रकारको गतिविधि छ पहिले नै अनुमोदन गरेको भए आउने थिएन ।
अहिले पनि सत्ता र सभामुख द्वन्द्व बढाउन खोजिरहेका छन् ।’ अध्यक्ष ओलीले आइतबारको संसद् बैठकपछि एमालेका करिब ३० जना सांसदसँग विपक्षी दलको कार्यालयमा करिब एकघण्टा अन्तरक्रिया गर्नुभएको थियो ।




















