भैरहवा:= संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एअरलाइन्सको ध्वजाबाहक विमान वाइडवडीबाट परीक्षण उडान गरिने बताउनु भएको छ ।
मन्त्री आलेले एरो थाईको बिमानले क्यालिब्रेशन फ्लाइट (यान्त्रीक परिक्षण) सम्पन्न भइसकेपछि नेपाल एअरलाइन्सको ध्वजाबाहक विमानबाट परीक्षण उडान गरिने बताउनु भएको हो। उहाँले फागुन १५ गतेसम्म क्यालिब्रेशन फ्लाइट हुन्छ भनेर डेडलाइन तोकिए पनि करिब ८–९ दिन अघि नै छिटो काम सुरु भएको बताउनु भयो ।
शनिबार विमानस्थलको निरीक्षण पश्चात पत्रकारहरुसँग मन्त्री आलेले भन्नुभयोे, ‘क्यालिब्रेशन फ्लाइट सम्पन्न गरिसकेपछि मलाई लाग्छ अब १०–१२ दिनको बीचमा नेपाल एअरलाइन्सको ध्वजाबाहक विमानबाट टेष्ट फ्लाइट गर्नेछौं।’ टेष्ट फ्लाइटपछि विमानस्थल उद्घाटनको तयारी गरिने उहाँले बताउनु भयो। उहाले क्यालिब्रेशन फ्लाइटको रिपोर्ट आइसकेपछि वैशाख १ गते ‘न्यू इअर विथ न्यू एअरपोर्ट’ को शुभारम्भ गरिने योजना सहित काम गरिएको बताउनु भयो ।
मन्त्री आलेले भन्नुभयो, ‘विगतमा ५६ दिनमा क्यालिब्रेशन फ्लाइटको रिपोर्ट आउने कुरा भएको थियो, तर मैले २४ दिनमा रिपोर्ट आउने गरी अहोरात्र खटेर काम गर्न आयोजना तथा एरो थाइ कम्पनीका प्रोजेक्ट म्यानेजर तथा नेपालका प्रतिनिधिलाई अनुरोध गरेको छु ।’
अब बुद्ध जयन्तीमा विभिन्न देशका बौद्ध धर्मावलम्बीहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने उहाँकोे भनाइ थियो । उहाँले भन्नुभयो, ‘मलाई लाग्छ हामीले चाप धान्न सक्दैनौं।’ टर्मिनल भवन (टी–२) को लागि अर्थमन्त्रीसंग कुरा भएको जानकारी दिदै उहाँले टी–२ को लागि छिट्टै टेण्डर प्रक्रियामा अगाडी बढाउने तयारी गरेका छौं । ‘यो राष्ट्रिय गौरवको आयोजना हो, काठमाडौंमा एउटा एयरपोर्ट थियो, अब दोस्रो विमानस्थलको शुभारम्भ गर्दैछौं,’ उहाँले भन्नुभयो ।
विमानस्थलमा हवाइ अवतरणका क्रममा समस्याको रुपमा भारतमा रहेको आर्मी ब्यारेक नजिक भएकाले यो समस्या समाधानका लागि आफूले भारतका उड्डयन मन्त्रीलाई भेटेर सहयोग गरिदिनुपर्यो भनेर अनुरोध गरेको बताउनु भयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि यसबारे कुरा राख्दिनुपर्यो भनेर अनुरोध गरेको तर पछि कोभिड–१९ को महामारीले भ्रमण रद्द भएको बताउनु भयो ।
लुम्बिनी विकास गुरुयोजनाको काम १९ प्रतिशत रहेको र बाँकी रहेका काम सम्पन्न गर्न अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित गरेर अगाडी बढाउने उहाँले बताउनु भयो । लुम्बिनी विकास गुरुयोजना सम्पन्न गर्न पर्यटन मन्त्रालय गम्भिर छ,’ उहाँले भन्नुभयो ।




















