काठमाडौं:= आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को दोस्रो खेलमा नेपालले आज फिलिपिन्सको सामना गर्दैछ । खेल बिहान ११ः४५ बजे सुरु हुनेछ ।
छनोटको समूह ‘ए’ मा रहेको नेपाल आज कमजोर मानिएको फिलिपिन्सलाई हराउँदै छनोटमा दोस्रो जित निकाल्न चाहन्छ । नेपालले शुक्रबार भएको पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो । नेपाल २ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।
नेपालको तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने छ । समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ ।
फाइनल भने फेब्रुअरी २४ तारिखमा हुनेछ । फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।




















