काठमाडौं:= ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा नेपाल टेलिकमले भ्वाइस ओभर एलटिई अर्थात भोल्टी कल निःशुल्क प्रदान गर्ने भएको छ । त्यस्तै एमपोसबाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ । अफर शनिबार एक दिनका लागि उपलब्ध हुनेछ ।
कम्पनीले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटिई अर्थात् भोल्टी सेवामा कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क उपलब्ध हुनेछ ।
साथै, सोही अवसरमा एमपोसबाट गरिने दुई सयदेखि चार सय ९९ रुपैयाँसम्मको रिचार्जमा पाँच सय १२ एमबी डाटा र पाँच सय वा सोभन्दा माथिको रिचार्जमा एक हजार २४ एमबी डाटा बोनसका रूपमा निःशुल्क उपलब्ध हुने कम्पनीका सहप्रवक्ता रञ्जित लोहियाले जानकारी दिनुभएको छ ।
यसैबीच कम्पनी प्रवक्तामा कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक शोभन अधिकारीलाई नियुक्त गरेको जनाएको छ ।




















