म्याग्दी क्याम्पसमा सूचना प्रविधिको विषयमा पढाइ हुँदै।

[ ध्रुवसागर शर्मा ] 

म्याग्दी:= धौलागिरि क्षेत्रमा नै पहिलोपटक हिमाली जिल्ला म्याग्दीको बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसमा सूचना तथा प्रविधिको विषयमा अध्यापन हुने भएको छ । म्याग्दी बहुमुखी क्याम्पसको स्नातक तहमा सेमेस्टर प्रणालीअन्तर्गत समय सुहाउँदो प्राविधिक शिक्षाको विषयमा अध्ययन तथा अध्यापन गराउन लागिएको हो ।

साविक धौलागिरिमै पहिलोपटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गरेको म्याग्दी क्याम्पसले सूचना तथा प्रविधिको क्षेत्रमा अध्यापन गराउने मौका पाएको हो । प्राविधिक शिक्षाका लागि ठूला सहर तथा विदेशमा जाने चलन बढिरहेको समयमा म्याग्दी बहुमुखी क्याम्पसले जिल्लामै स्नातक तहमा कम्प्युटर तथा सूचना, प्रविधि (बिआइसिटिई)को विषयमा अध्ययनको अवसर जुराएको हो ।

जिल्लाको विभिन्न विद्यालयहरूमा विज्ञान, गणित, कम्प्युटर जस्ता प्राविधिक विषयहरू पढाउने शिक्षकहरूको अभाव भइरहेको बेला म्याग्दी क्याम्पसले एकैपटक दुईवटा विषयको सम्बन्धन प्राप्त गरेको जनाएको छ । बिआइसिटिई र बिएड साइन्स अध्ययन गर्न प्रवेश परीक्षाको लागि आवेदन खुलाइएको सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले बताउनुभयो ।

समेस्टर प्रणालीमा अध्ययन तथा अध्यापन हुने कम्प्युटर प्रविधिको विषयमा ४० प्रतिशत आन्तरिक तथा ६० प्रतिशत लिखित परीक्षा हुने सूचना अधिकारी समेत रहनुभएका सहायक क्याम्पस प्रमुख सुवेदीले जानकारी दिनुभयो ।बिआइसिटिई विषयमा अध्ययन गर्नका लागि यही फागुन १० गतेसम्म प्रवेश परीक्षाको आवदेन दिन सकिने समय तोकिएको छ भने १५ गतेसम्म डबल दस्तुर तिरेर आवदेन दिन सकिन्छ ।

अहिले प्रवेश परीक्षाको लागि विद्यार्थीहरूले धमाधम फाराम भरिरहेका छन् भने १८ गते प्रवेश परीक्षाको मिति तोकिएको क्याम्पसले जनाएको छ । बिआइसिटिई अध्ययनका गर्नका लागि जुनसुकै विषयमा कक्षा १२ उत्तीर्ण गरी न्युनतम २ दशमलव शुन्य १ अर्थात् ‘सी’ जिपिए प्राप्त गरेको विद्यार्थीले आवेदन दिन सक्नेछन् । चारवर्षे शैक्षिक कार्यक्रममा विद्यार्थीलाई सैद्धान्तिक विषयसँगै प्रयोगात्मक अध्ययन र अध्यापन गराइनेछ ।

बिआइसिटिई उत्र्तीण भएका विद्यार्थीलाई सरकारी तथा गैरसरकारी संस्थामा आईटी अफिसर, विद्यालयमा आइटी शिक्षक, सफ्टवेयर डेभलपरसहित सूचना र सञ्चारको क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिमा समेत सघाउने जनाइएको छ। जिल्लाभित्र आवश्यक प्राविधिक जनशक्ति उत्पादनमा सघाउने भएकाले सबै स्थानीय तहलाई जानकारीसहित भर्ना अभियानमा साथ दिनसमेत अनुरोध गरिएको छ ।

भावी दिनमा जिल्लाको आवश्यकता तथा विद्यार्थीको रुचि, क्षमता र करिअरमा मेल खाने पाठ्यक्रम लागू गर्नेगरी योजना बनाइएको छ। दुई वर्षअघि विश्वविद्यालय अनुदान आयोगबाट क्युएएको प्रमाणपत्र प्राप्त गरेको क्याम्पसले यसअघि स्नातकोत्तर तहको व्यवस्थापन संकायमा समेस्टर तथा यस वर्षदेखि स्नातक तहमा बिआईसिटीई विषयमा सेमेस्टर प्रणाली र बिएडतर्फ वार्षिक प्रणालीअनुसार विज्ञान शिक्षाको कक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

२०४८ सालमा स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा हाल दश जोड दुईदेखि स्नातकोत्तर तहसम्म विभिन्न विषयमा पढाई हुँदै आइरहेको छ भने करिब १४ सयजना विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् ।