काठमाडौं:= नेपालको २९.१४ मिलियन जनसंख्यामध्ये सिनेमा हेर्ने दर्शक निकै कम छन् । त्यो पनि सिनेमा हलसम्म नै पुग्ने दर्शक अझै धेरै कम छन् । नेपालमा रहेका विभिन्न भाषी दर्शकसम्म पुग्न नसकेको नेपाली चलचित्र कहिलेसम्म सबै भाषा समक्ष पुग्ला भन्ने प्रश्न कलाकर्मीमै उठ्दै पनि आएको छ ।
हुन त नेपालीसँगै विभिन्न भाषामा चलचित्र निर्माण हुँदै आएका छन् । तर हलमा भने सबै भाषाका चलचित्र रिलिज हुन सक्दैनन् । यसैबीच नेपाली भाषामै निर्माण भएको प्रतिक्षित नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु २’ ले केही हदसम्म विभिन्न भाषी दर्शकसम्म पुग्ने प्रयास गरिरहेको छ । चलचित्र प्रदर्शन हुँदैछ भनेर प्रदर्शनअघि गरिने प्रचारप्रसार महŒवपूर्ण हुने भनेर गहिरोसँग बुझनु भएका यसै चलचित्रका निर्देशक सुदर्शन थापाले प्रचारको नयाँ ट्रेन्ड प्रयोग गर्नुभएको हो ।

बुधबार थारू भाषाको प्रमोशनल गीत सार्वजनिक गरियो । जुनगीतबाट थारू जातिसम्म पुग्ने अपेक्षा निर्माण टिमले लिएको छ । यस्तै बिहीबार नै नेपाल (नेवारी) भाषाको प्रमोशनल गीत पनि सार्वजनिक गरिएको छ । आश्रय रञ्जित र कल्पना श्रेष्ठको स्वर रहेको गीतमा नरेश योगीको शब्द रचना तथा संगीत छ । प्रमोशनल गीतको भिडियोमा नेपाल भाषाका कलाकारहरूसँगै चलचित्रका मुख्य कलाकार नायक पल शाह र नायिका पूजा शर्मा नेवारी पहिरनमा प्रस्तुत हुनुहुन्छ । यसले नेवारी समुदायका दर्शकले आफ्नो मन देख्नेछन् ।
चलचित्रमा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकायलगायत कलाकारको अभिनय छ । बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शैलेन्द्र प्रधानको व्याकग्राउण्ड स्कोर रहेको छ । चलचित्रमा लगानी निर्देशक सुदर्शनसँगै नायिका पूजा शर्माको पनि छ ।





















