बलिउड सुपरस्टार सलमान खानसहित दर्जनौं कलाकारहरु बैशाख ३ गते नेपाल आउने।

काठमाडौं := भारतको भाइजानको रुपमा परिचीत बलिउडका सुपरस्टार अभिनेता सलमान खान नेपाल आउने भएका छन् । आगामी बैशाख ३ गते दशरथ रंगशालामा हुने सांगितिक कार्यक्रममा सलमान खानसहित भारतीय कलाकारको टोली नेपाल आउन लागेका हुन् ।

बलिउडका कलाकारहरुलाई ओडीसी इन्टरटेनमेन्टले नेपालमा ल्याउन लागेको जानकारी दिइएको छ । ओडीसीले बुधबार उनीहरुलाई भुक्तान गर्नुपर्ने रकममध्ये ४ करोड रुपैयाँ पर्यटन मन्त्रालयबाट राष्ट्र बैंकमा भुक्तानी पठाउन सिफारिस पत्र लिएको पनि बताइएको छ ।

यसअघि २०७४ फागुन २६ गते सलमानसहितका कलाकार नेपाल आउने भनिएको थियो । त्यतिबेला विवादका कारण उक्त कार्यक्रम रद्ध भएको थियो । तर, आगामी बैशाख ३ गते भने सलमान खानसहितको टोली नेपाल आउने पक्का भएको छ ।

सलमानसहित साथमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, कोरियोग्राफर एवं निर्देशक प्रभु देवा, अभिनेत्री ज्याकलिन फर्नान्डेज, कार्यक्रम होस्ट मनिष पल, कलाकार आयुश शर्मा, गायक गुरु रन्धावा लगायतको टोली नेपाल आउनेछ ।

यसअघि सलमानका भाइ सोहिल खान नेपाल आएर सुरक्षा र सलमान बस्ने होटलको विषयमा जानकारी लिएर गएका थिए।आयोजकले सलमानको टुरले कोरोना महामारीका कारण सुस्ताएको नेपालको पर्यटन व्यवसायलाई थोरै भएपनि राहत दिने विश्वास लिएको छ ।