काठमाडौं:= सत्तारुढ दलहरुमध्ये एमसीसीको पक्षमा नेपाली कांग्रेस मात्र देखिएको छ । समंगलबार बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले अमेरिकी सहयोग परियोजना अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसद्मा टेबल गर्ने निर्णय गरेको छ। एमसिसी परियोजना प्रतिनिधिसभा बैठकमा टेबल गर्ने र सो सम्झौताको पक्षमा मतदान गर्ने निर्णय कांग्रेसले गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसी परियोजना टेबल हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । बैठकमा प्रधानमन्त्री देउवाले एमसिसीसँगको सम्झौता नेपालको हितमा रहेको भन्दै संसद्बाट पास गर्नुको विकल्प नरहेको बताउनु भएको थियो ।
सत्तारुढ अर्को दल नेकपा एस (एकीकृत समाजवादी) पनि अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा उभिने भएको छ ।
सरकारले आज प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरिरहेको छ । सरकारले एमसीसी टेवल गरे विक्षमा उभिने निर्णय नेकपा एसले गरेको हो ।
‘सकेसम्म टेवल गर्ने वातावरण बनाउन दिदैनौं । यदि टेवल भए विपक्षमा मत हाल्छौं । राष्ट्रभन्दा ठूलो सत्ता र गठबन्धन होइन,’ नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले भन्नुभयो ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले पनि एमसीसी टेवल भए विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
माओवादीले भने एमसीसी जबर्जस्तअघि बढाइए गठबन्धन टुट्ने प्रस्ट सन्देश दिएको छ । सरकारमा सहभागी अर्को दल जनता समाजवादी पार्टी (जसपा), नेपालले भने माओवादी र नेकपा एसले जे निर्णय गर्छन् सोही अनुसार अघि बढ्ने बताएको छ ।




















