नजिकिँदै गरेको शिवरात्रिलाई लक्षित गरि सविन राईको स्वरमा ‘बाबा पशुपति’ सार्वजनिक।

काठमाडौं:= आउँदो चैत ११ गते प्रदर्शन हुने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘चिसो एष्ट्रे’ मा समावेश नयाँ गीत ‘बाबा पशुपति’ सार्वजनिक गरिएको छ । यसअघि पहिलो गीत सार्वजनिक भइसकेको थियो भने चलचित्रको यो दोस्रो गीत हो। अहिले सार्वजनिक गीत शिवरात्रिलाई लक्षित गरिएको छ ।

सार्वजनिक गीतमा सविन राईको आवाज रहेको छ । पछिल्लो समय सांगीतिक दुनियाँबाट टाढा रहनुभएका सविनले यही गीतबाट कमव्याक गर्नुभएको हो । उहाँले स्वर सुहाउँदो कम्पोजिसन र गीतको शब्द पनि रोचक रहेकाले गीत गाउन रमाइलो भएको प्रतिक्रिया दिनुभएको छ । गीतमा संगीत अजर जंगमको रहेको छ भने शब्द रचना दिनेश पाल्पालीले गर्नु भएको हो ।

दिनेश पाल्पालीको निर्देशन रहेको चलचित्रको यसअघि ‘ड्रिम पाइरेसी’ बोलको गीत सार्वजनिक भइसकेको छ । अजर जंगमको स्वर तथा संगीत रहेको सो गीतको फरक खालको भिडियो धेरैले रुचाएका थिए । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त व्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गर्नुभएको हो । निर्माणमा भने महेश बाबुलाई प्रवीन स्याङ्बा र सुष्मिता पराजुलीले सघाउनुभएको छ ।

चलचित्रको सहनिर्मातामा भने रूपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा रहनुभएको छ । चलचित्रमा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशीलराज पाण्डे, रविन तामाङ र सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ ।