स्थानीय निर्वाचन अभियान सञ्चालन गर्ने ‘घर-घर जाऊँ कांग्रेस जिताऊँ’ नारा तय
काठमाडौं:= नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित म्याद सकिएको भ्रातृ संगठन र शुभेच्छुक संस्था विघटन गरेको हो ।
कांग्रेसले अवधि समाप्त भइसकेका भ्रातृ संस्थाका केन्द्रीय समितिहरू विघटन गर्दै पार्टी सभापति देउवाले आवश्यक परामर्श गरेर फागुन मसान्तभित्र केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय पनि गरेको छ । जसअनुसार नेपाल विद्यार्थी संघ, नेपाल प्रजातान्त्रिक सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल भूतपूर्व सैनिक संघ विधानतः स्वतः विघटन गरिएको र ती संस्थाहरूको यही फागुन मसान्तभित्र केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी गराउनुभयो । उहाँका अनुसार पार्टीको विभिन्न पदहरूमा निर्वाचित वा मनोनीत भ्रातृ वा शुभेच्छुक संस्थाका सभापति, पदाधिकारी वा सदस्यहरूको पद स्वतः रिक्त भएको उल्लेख गर्दै तत्काल पूर्ति गर्ने निर्णय पनि गरेको छ ।
यस्तै, कांग्रेसले स्थानीय निर्वाचनलाई लक्षित गरी एकमहिने संगठन सुदृढीकरण अभियान पनि सञ्चालन गर्ने भएको छ । आगामी वैशाख ३० गते निर्वाचन गर्ने सरकारी निर्णयको स्वागत गर्दै कांग्रेसले स्थानीय तह निर्वाचन अभियान सञ्चालन गर्ने घोषणा गरेको हो ।
मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले स्थानीय तहको निर्वाचन अभियानमा ‘घर–घर जाऊँ कांग्रेस जिताऊँ’ नारा तय गरेको कांग्रेस प्रवक्ता डा. महतले जानकारी दिनुभयो । सो अभियान यही फागुन २० गतेदेखि चैत २० गतेसम्म सञ्चालन हुनेछ । त्यसैगरी, बैठकले स्थानीय तह निर्वाचनको घोषणापत्र तयारी समिति अविलम्ब गठन गर्ने जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।




















