सीमा तनावकाबीच युक्रेन राष्ट्रपतिबाट अमेरिकी राष्ट्रपति बाइडेनलाई किभमा निम्तो।

एजेन्सी किभ:= युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनसँगको अवस्था ‘शान्त गर्न’ र ‘शक्तिशाली संकेत’ पठाउन अमेरिकी राष्ट्रपति जो बाइडेनलाई किभको भ्रमण गर्न आग्रह गर्नुभएको छ । रसियासँगको सीमा विवादबीच अमेरिका र रसियाको तनाव बढिरहेका बेला जलेन्स्किीले बाइडेनलाई सो अनुरोध गर्नुभएको हो ।

राष्ट्रपति जेलेन्स्कीको निम्तोबारे बाइडेनले कुनै प्रतिक्रिया जनाउनुभएको छैन । यसअघि उहाँले युक्रेनबाट सम्पूर्ण अमेरिकी नागरिकलाई स्वदेश फर्किन अनुरोध गर्नुभएको थियो । यसैबीच, जर्मन चान्सलर अलाफ सोल्जले युद्धको जोखिम पुटिनमा निर्भर रहेको बताउनुभएको छ ।

युक्रेनको तनाव युरोपको शान्तिमा एउटा गम्भीर खतरा भएको उहाँको भनाइ छ । राष्ट्रपति जेलेन्स्कीलाई भेट्न जर्मन चान्सलर सोल्जले किभको भ्रमण गर्दै हुनुहुन्छ । जेलेन्स्कीलाई भेटेपछि सोल्ज पुटिनलाई भेट्न मस्को जाने कार्यक्रम छ ।

यसैबीच, सीमामा जारी विवादबारे बैठक गर्न युक्रेनले रसिया र युरोपेली सुरक्षा समूहका अन्य सदस्यलाई आहृवान गरेको छ । विदेशमन्त्री दिमित्रो कुलेबाले सीमामा सुरक्षाकर्मीको तैनाथबारे विवरण दिन आफूहरूले गरेको औपचारिक आग्रहलाई रूसले बेवास्ता गरेको बताउनुभयो । ‘पारदर्शीता’ का लागि रसियाको योजनाबारे आगामी ४८ घण्टाभित्र बैठक गर्न अनुरोध गर्ने अबको ‘अर्को कदम’ भएको उहाँले बताउनुभयो ।

युक्रेनको सीमामा एक लाख सुरक्षाकर्मी परिचालन गरे पनि युक्रेनमा अतिक्रमणको योजना नभएको रसियाले बताउँदै आएको छ । तर, केही पश्चिमेली देशहरूले रसियाले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरेको बताउँदै आएका छन् । मस्कोले ‘जुनकुनै बेला’ हवाई बमबारी गरेर हमला सुरु गर्न सक्ने अमेरिकाले अनुमान गरेको छ । एक दर्जनभन्दा बढी देशहरूले युक्रेनबाट आफ्ना नागरिकलाई स्वदेश फर्किन आहृवान गरेका छन् । केही देशहरूले राजधानी किभबाट कर्मचारी फिर्ता बोलाएका छन् ।

युक्रेनले शुक्रबार भियना सम्झौतामा आधारित रहेर रूसको मनसायबारे जवाफ खोजेको बताइएको छ । सम्झौतालाई युरोपमा सहकार्य र सुरक्षाका लागि अन्तर सहरकारी संगठन (ओएससीई) ले स्वीकारेको छ, जसमा रूससमेत सदस्य छ ।