एजेन्सी नयाँदिल्ली:= देशको सुरक्षामा खतरा निम्त्याएको भन्दै भारतले ५४ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । सरकारले चाँडै नै ती एप्समा प्रतिबन्ध लगाउने सरकारी स्रोतलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ । स्विट सेल्फी एचडी, व्युटी क्यामेरा-सेल्फी क्यामेरा, भिभा भिडियो इडिटर, टेन्सेन्ट एक्सरिभर, अनमायोजी अरेना, एपललक, डुअल स्पेल लाइट सरकारले प्रतिबन्ध लगाउन लागिएका केही एप्स हुन् ।
देशको सार्वभौमसत्ता र सुरक्षामा जोखिम पुर्याएको भन्दै गत वर्षको जुनमा सरकारले सामाजिक सञ्जालमा व्यापक प्रयोगमा आएका टिकटक, विच्याट र हेलोमाथि प्रतिबन्ध लगाएको थियो । सन् २०२० को मे महिनामा चीनसँगको सीमा तनावपछि करिब ३०० एप्सहरूमाथि भारतमा प्रतिबन्ध लगाइएको छ । पूर्वी लद्दाखको गालवान उपत्यकामा चिनियाँ सेनाहरूसँगको भिडन्तमा २० भारतीय सैनिक मारिएपछि सन् २०२० को जुनमा पहिलो चरणको प्रतिबन्ध घोषणा गरिएको थियो ।




















