काठमाडौं:= कुनै समय नेपाली चलचित्रमा निकै जमेको जोडी अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंहले पछिल्लो १२ वर्षयतासँगै काम गर्नुभएको थिएन । दुई दशकअघिको नेपाली चलचित्रको बजारमा यो जोडीलाई भ्याइनभ्याइ थियो । कहिले श्रीमान्, श्रीमती त कहिले आमा-छोरा भएरै पनि यो जोडीले सँगै काम गरेका थिए ।
पछिल्लो समय चलचित्रको ट्रेन बदलिएसँगै युवाकलाकारले कब्जा जमाइरहेका छन् । त्यसैले १२ वर्षसम्म यो जोडीलाई सँगै काम गराउने कुनै पनि निर्माता तथा निर्देशकले कोसिस गरेनन् । यसैबीच अहिले आएर राजेश र निरुताले सँगै काम गर्नुभएको छ । ‘हजुर मुसुक्कै’ बोलको एक म्युजिक भिडियोमा उहाँहरूले सँगै काम गर्नुभएको हो । भिडियोमा राजेश र निरुतालाई जोडीकै रूपमा देखाइएको छ ।
आइतबार नयाँबानेश्वरस्थित आइप्लेक्स मलमा रहेको वन सिनेमा हलमा आयोजित कार्यक्रमका प्रमुख अतिथी गृहमन्त्री बालकृष्ण खाँणले भिडियो हेर्दै निकै राम्रो बनेको प्रतिक्रिया दिनुभयो । साथै उहाँले राजेश हमाल र निरुता सिंहलगायतको कलाकारको टिमलाई बधाई तथा शुभकामना दिनुभएको थियो।
‘मलाई गायक कृष्ण विक र निरुता सिंह ज्यूले निम्ता दिनुभएको थियो । म आउँछु पनि भनेको थिएँ । गीत हेर्न पाउँदा खुशी लाग्यो । सन्देशमूलक भिडियो बनाउनुभएको रहेछ’, प्रमुख अतिथि खाँणले भन्नुभयो । ‘गायक कृष्णलाई बाल कलाकार भनौं कि युवा, जे होस् यति सानो उमेरमा निकै राम्रो काम गर्नुभएको रहेछ । सफलताको शुभकामना ।’
यस्तै कार्यक्रममा भिडियोका मुख्य कलाकार राजेशले आफूले यसअघि धेरै भिडियोमा काम गर्दै आएको तर यो किसिमको भिडियो आफ्नो लागि पहिलो भएको जानकारी गराउनुभयो । ‘मैले धेरै भिडियोमा काम गर्दै आएको छु तर यो पृथक भएकाले पनि खास लाग्यो’, राजेशले भन्नुभयो । ‘गायक कृष्ण भाइ आफैं निर्माता भएर यति राम्रो भिडियो बनाउनुभएको छ । उहाँको स्वर आफैँमा मिठास छ ।’
यस्तै राजेशले नायिका निरुतासँग १२ वर्षपछि काम गरेको प्रसंगमा एउटै क्षेत्रमा भएकाले भेट भइहाल्दो रहेछ भन्दै ‘कहाँ जालिस मछली मेरै ढडिया’ जस्तै भयो भन्दै माहोललाई रमाइलो बनाइदिनुभयो । राजेशले ठट्यौली पारामा अघि भन्नुहुन्छ, ‘१२ वर्षअघि निरुता जि हुर्कँदै हुनुहुन्थ्यो, अहिले त धेरै ठूली हुनुभएछ ।’ साथै नायिका निरुताले यतिका समयसम्म ढडियामा मछली किन परेन भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा भन्नुहुन्छ, ‘यो समयसम्म कसैले पनि त्यो ढडियामा मछली ल्याउने हिम्मत नै गरेनन् ।’
भिडियोका अर्का कलाकार सुरवीर पण्डितले पनि राम्रोटिमसँग काम गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिनुभयो । भिडियोकी अर्की कलाकार प्रियना आचार्यले वरिष्ठ कलाकारसँग आफूले सँगै काम गर्न पाउनु निकै ठूलो कुरा भएको बताउनुभयो । अर्का कलाकार प्रिन्स विश्वकर्माले अभिनेता राजेशको ठूलो फ्यान भएको भन्दै शिर निहुराएरै आर्शिवाद लिनुभयो ।
गीतका गायक तथा निर्माता कृष्ण विकले लामो समयदेखि अभिनेता राजेशसँग छलफल भएरमात्र भिडियोको काम राम्रो बन्न पुगेको बताउनुभयो । कृष्ण र राजेशबीच ११ महिनाअघि नै यो भिडियोको विषयमा छलफल भएको थियो । भिडियोमा कविराज गहतराजको कोरियोग्रापीm र जिवी आग्रीको कथा तथा निर्देशन रहेको छ ।




















