एजेन्सी किभ:= विभिन्न देशले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरेका छन् । रसियाले कुनै पनि बेला युक्रेनमाथि अतिक्रमण गर्ने खतरा बढेको भन्दै पश्चिमेली देशहरूले चेतावनी दिइरहेका बेला विभिन्न देशले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरेका हुन् ।
अमेरिका, अष्ट्रेलिया, इटाली, जर्मनी, बेलायत, इजरायल, द नेदरल्याण्डस, जापानलगायत देशले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरेका छन् । केही देशले आफ्ना कूटनीतिक कर्मचारी र उनका परिवारलाई फिर्ता बोलाएका छन् । क्यानडाले आफ्ना दूतावासका कर्मचारीलाई पोल्याण्डसँगको सीमाना जोडिएको पश्चिमी युक्रेनी शहर लिभिभमा सार्ने भएको छ । युक्रेनका लागि बेलायती दूत मेलिन्डा सिमोन्सले ट्विट गर्दै आफू र सम्पूर्ण टिम किभमा बसेको जनाउनुभएको छ ।
रूसले युक्रेनमाथि आक्रमण गरे ५० हजार सर्वसाधारणको मृत्यु हुनसक्ने अमेरिकाले चेतावनी दिएको छ । तर, रूसले भने आक्रमणको योजना अस्वीकार गर्दै आएको छ । यद्यपि उसले युक्रेनसँगको सीमा नजिकै एक लाखभन्दा बढी सेना तैनाथ गरेको छ । सैन्य अभ्यासका लागि सेना त्यहाँ गएको रूसको दाबी छ । रूसले यस्ता आरोपहरूलाई ‘उत्तेजक परिकल्पना’ भनी टिप्प्णी गरेको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो कदमप्रति आपत्ति जनाउनुभएको छ । आक्रमणको चेतावनीले आतंक फैलाउन सक्ने उहाँको भनाइ छ । जेलेन्स्कीले यदि पश्चिमा शक्तिसँग आसन्न आक्रमणको कुनै ठोस योजना भए, त्यो आफूले देख्न बाँकी रहेको पनि बताउनुभएको छ । उहाँले जोखिम छ भन्ने कुरा आफूहरूले पनि बुझेको भन्दै रूसी आक्रमणको सय प्रतिशत भरपर्दो जानकारी भए उपलब्ध गराउन पनि आग्रह गर्नुभएको छ ।
यसैबीच युक्रेनको तनावबारे अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी राष्ट्रपति भ्लादमिर पुटिनबीच फोन वार्ता बिफल भएसँगै प्रशान्त क्षेत्रमा रूस र अमेरिका अर्को द्वन्द्वमा संलग्न रहेको विवरण सार्वजनिक भएको छ । प्रशान्त क्षेत्रमा आफ्नो पानीभित्र नौ सेनाको जहाजले अमेरिकी पनडुब्बीलाई लखेटेको रूसले दाबी गरेको छ ।
तर, रूसको स्वामित्वमा रहेको समुद्रमा सैन्य कारबाही भएको विषयलाई अमेरिकाले अस्वीकार गरेको छ । अमेरिकाले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको र राष्ट्रिय सुरक्षा खतरा निम्त्याएको रसियाले आरोप लगाएको छ । युक्रेनको सीमा नजिक रसियाली सेनाको परिचालनलाई लिएर मस्को र वासिंटनबीच द्वन्द्व बढिरहेको बेला प्रशान्त क्षेत्रमा प्रतिद्वन्द्वी देशबीच अर्को तनाब बढेको हो ।
नौ सेनाको जहाजले दिएको आदेशलाई पनडुब्बीले अस्वीकार गरेपछि द्वन्द्वको स्थिति आएको रसियाली रक्षा मन्त्रालयलाई उद्धृत गर्दै इन्टरफ्याक्स समाचार संस्थाले जनाएको छ । तर, ती सबै आरोप अमेरिकाले खण्डन गरेको छ । एउटा विज्ञप्तिमा अमेरिकी सेनाका प्रवक्ता क्याप्टेन काले रेन्सले भन्नुभएको छ, ‘उनीहरूको स्वामित्वमा रहेको समुन्द्रमा सैन्य कारबाही भएको भन्ने विषयमा कुनै सत्यता छैन । हाम्रो पनडुब्बी रहेको निश्चित स्थानबारे म टिप्पणी गर्ने छैन् । तर, अन्तर्राष्ट्रिय पानीमा हामीले सुरक्षित ढंगले अगाडि बढ्ने छौं ।’




















