लन्डन:= लन्डन क्लब चेल्सीले क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । अतिरिक्त समयमा ब्राजिली क्लब पाल्मेइरसलाई २–१ ले पराजित गर्दै चेल्सीले पहिलोपटक क्लब विश्वकपको उपाधि जितेको हो ।
साउदी अरेबियाको आवुधावीस्थित मोहम्मद विन जायद रंगशालामा शनिबार राति भएको खेलको निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि अतिरिक्त समयमा चेल्सीले बाजी मारेको हो । अतिरिक्त समयमा काई हाभर्टजले चेल्सीका लागि पेनाल्टीमा निर्णायक गोल गर्नुभएको थियो ।
त्यसअघि निर्धारित समयमा चेल्सीका लागि रोमेलु लुकाकु र पाल्मेइरसका राफयल भेइगाले गोल गर्नुभएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको ५५औँ मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाउनुभयो । ६४औँ मिनेटमा राफयल भेइगाले पेनाल्टीमार्फत् बराबरी गोल फर्काउनुभएको थियो ।
अतिरिक्त समयको ११७औँ मिनेटमा काईले पेनाल्टीमा निर्णायक गोल गर्नुभयो । कप्तान सिजर एज्पिलिक्वेटाको प्रहार लुआन गार्सियाको हातमा लागेपछि रेफ्रीले दिएको पेनाल्टीमा काईले गोल गर्नुभएको हो ।
योसँगै यस सिजनमा चेल्सीले दोस्रो उपाधि हात पारेको छ । यसअघि चेल्सीले गत अगस्टमा स्पेनिस क्लब भिल्ला रियललाई हराउँदै युइएफए सुपर कपको उपाधि जितेको थियो।




















