नेपाली क्रिकेटर सन्दीप फेरि आइपिएल अक्सन (लिलामी) मा बिकेनन्।

एजेन्सी:= इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को अक्सन (लिलामी) मा नेपाली लेगस्पिनर सन्दीप लामिछाने लगातार दोस्रो सिजन कुनै टोलीमा बिकेका छैनन् । बेंगलोरमा सम्पन्न नयाँ सिजनको मेगा अक्सनमा सन्दीपलाई कुनैपनि टोलीले किनेनन्।

पहिलो दिन शनिबार अनसोल्ड भएका सन्दीपको दोस्रो तथा अन्तिम दिन झिनो आशा थियो । न्यूनतम मूल्य ४० लाख भारु अर्थात ६४ लाख नेपाली रुपैयाँ राखेका सन्दीपलाई कसैले पनि लिन इच्छा देखाएनन् ।

पहिलो दिन अनसोल्ड भएका दक्षिण अफ्रिका डेविड मिलरलाई भने ३ करोडमा दोस्रो राउन्डमा गुजरात टाइटन्सले किन्यो । म्याथ्यु वेडलाई पनि दोस्रो राउन्डमा टाइटन्सले किनेको थियो । दोस्रो राउन्डमा इंग्ल्यान्डका ओपनर एलेक्स हेल्सलाई कोलकता नाइट राइडर्सले १ करोड ५० लाख भारुमा अनुबन्ध गर्यो। दोस्रो राउन्डमा केहि खेलाडी बिकेपनि सन्दीप भने छनोटमा नै परेनन्। अन्तिम राउन्डमा हरेक टोलीले आफूलाई चाहेको खेलाडी रोज्न सक्थे । तर सन्दीपलाई कसैले पनि रोजेनन् ।

सन् २०१८ मा तत्कालिन दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) ले न्यूनतम मूल्य २० लाख भारु अक्सनमा किनेपछि सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए । २०२० सम्म दिल्लीमा रहेका सन्दीपले ९ खेल खेल्दै १३ विकेट लिएका थिए । २०२१ मा भने दिल्लीले सन्दीपलाई फुकुवा गरेपछि अक्सनमा गएका सन्दीपलाई कुनैपनि टोलीले किनेका थिएनन् ।

आइपिएल २०२२ मा सर्वाधिक महँगो मूल्यमा भारतीय विकेटकिपर ईशान किशन बने । किशनलाई मुम्बई इन्डियन्सले १५ करोड २५ लाख भारुमा किनेको थियो । त्यस्तै दीपक चाहरलाई चेन्नईले १४ करोड रकम खर्चिएको थियो । श्रेयस ऐरलाई कोलकता नाइट राइडर्सले १२ करोड २५ लाखमा किनेको थियो ।

मेगा अक्सनको दोस्रो दिन इंग्ल्यान्ड कै आक्रामक ब्याटर लियाम लिभिङस्टोनलाई पन्जाब किंग्सले ११ करोड ५० लाख भारुमा अनुबन्ध गरेको गर्यो । दोस्रो दिन उनीनै सर्वाधिक मूल्य पाउने खेलाडी बने । सिंगापुरका टिम डेविडलाई रोयल च्यालेन्जर्स बेंगलोरले ८ करोड भारुमा किनेको थियो ।