चारदेशीय टी-२० क्रिकेटमा युएईसँग नेपाल २५ रनले पराजित।

काठमाडौं:= ओमानमा चारदेशीय टी-२० क्रिकेट शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको छ । युएईले दिएको १९३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६७ रनमा समेटियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४१, आसिफ सेखले ३४, लोकेश बमले ३३, ज्ञानेन्द्र मल्लले २२, आरिफ सेखले १० रन जोड्नुभयो । प्रशिक्षक पुबुदु दसानायकेले प्रदीप ऐरीको स्थानमा ज्ञानेन्द्र मल्ललाई ओपनिङमा पठाउनुभएको थियो ।

छैटौँ ओभरको अन्तिम बलमा कासिफ दाउदको बलमा मोहम्मद वासिमले ज्ञानेन्द्रलाई क्याच गराउनुअघि पहिलो विकेटका लागि आसिफ र ज्ञानेन्द्रबीच ५३ रनको साझेदारी भएको थियो । ज्ञानेन्द्रले १९ बलमा २ चौका र १ छक्का प्रहार गर्नुभयो ।

यस्तै दशौँ ओभरमा आसिफलाई रोहन मुस्तफाले कट एन्ड बोल्ड आउट गर्नुभयो । आसिफले २९ बलमा ४ चौका र एक छक्का प्रहार गर्नुभयो । त्यसपछि क्रिजमा आउनुभएका आरिफ सेखले १२ बल खेल्दै ११ रन जोड्नुभयो ।

यसै खेलमार्फत् राष्ट्रिय क्रिकेट टोलीमा डेब्यु गर्नुभएका लोकेश बमले २१ बलमा २ चौका र २ छक्कासहित ३३ रन बनाउनुभयो । अन्तिम ओभरमा दुई छक्का हिर्काएपछि अन्तिम बलमा उहाँ क्याच आउट हुनुभएको थियो । यस्तै शरद भेषवाकर आठ बलमा एक चौकासहित १० रनमा नटआउट रहनुभयो । युएईका रोहन मुस्तफा र कासिफ दाउदले समान २-२ तथा जान्युद सिद्दिकीले १ विकेट लिनुभयो ।

त्यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९२ रन जोडेको थियो । ओपनर चिराग सुरीले ८४ रनको सानदार पारी खेलेपछि युएई उक्त स्कोरमा पुगेको हो । सुरीले ५३ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै नटआउट रहनुभयो ।

यस्तै युएईका पूर्वकप्तान रोहनले ३५ बलमा ५ चौका र २ छक्कासहित ४९ रन थप्नुभयो । अर्धशतक बनाउन एक बल बाँकी हुँदा उहाँलाई चौधौँ ओभरको तेस्रो बलमा आरिफ सेखले विकेटकिपर आसिफ सेखको हातबाट क्याच गराउनुभएको थियो । पहिलो विकेट २३ रनमै झरेको युएईको दोस्रो विकेटका लागि सुरीले रोहन मुस्तफासँग ९७ रन रनको साझेदारी गर्दै इनिङ्स अघि बढाउनुभएको थियो ।

यस्तै युएईका मोहम्मद वासिमले २२ रन जोड्नुभयो । १३ बलमा उहाँले एक चौका र २ छक्का प्रहार गर्नुभयो । मोहम्मद बुटाले ८ बलमा १ चौका र १ छक्कासहित १४ रनको नटआउट पारी खेल्नुभयो । नेपालका कप्तान सन्दीप लामिछानेसहित सहाब आलम र आरिफ सेखले १-१ विकेट लिनुभयो ।

सन्दीपबाहेक सबै बलर महँगा साबित हुनुभएको थियो । सन्दीपले ४ ओभरमा २३ रन खर्चिए पनि कमलसिंह ऐरीले ४ ओभरमा ४२, सहाब आलमले २ ओभरमा ३५, विवेक यादवले १ ओभरमा २०, जितेन्द्र मुखियाले ३ ओभरमा २५, शरद भेषवाकरले २ ओभरमा १७ र आरिफ सेखले २ ओभरमा १६ रन खर्चिनुभयो ।

आइसिसी टी-२० विश्वकपको ग्लोबल छनोटका लागि नेपाल, युएई, आयरल्यान्ड र ओमानले चारदेशीय टी-२० शृंखला खेल्दैछन् । नेपालले यसअघि शुक्रबार ओमानसँग भएको खेल ६ विकेटले जितेको थियो । नेपालले अब सोमबार आयरल्यान्डसँग खेल्नेछ । ग्लोबल छनोटका खेलहरू फागुन ६ गतेबाट सुरु हुनेछन् ।