काठमाडौं:= वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण विश्वको सबैभन्दा अग्लो हिमशिखर सगरमाथाको चुचुरो नजिक रहेको हिमताल आगामी ३० वर्षभित्र लोप हुने खतरा रहेको भन्दै सचेत गराएका छन् । विगत दुई हजार वर्षभित्र प्राकृतिक प्रक्रियाद्वारा निर्मित आठ हजार २० मिटर उचाइमा रहेको उक्त हिमताल पातलिंँदै गएको र आगामी सन् २०५० तिर पूरै लोप हुने अवस्थामा रहेको कुरा नेपालसहित आठ देशका वैज्ञानिकहरूको टोलीले गरेको अनुसन्धानबाट पत्ता लागेको कुरा इसिमोड (इन्टरनेसनल सेन्टर फर इन्टेग्रेटेड माउन्टेन डेभलपमेन्ट) को नेपालस्थित मुख्यालयबाट प्रकाशित प्रेस विज्ञप्तिमा जनाइएको छ ।
संसारको सबैभन्दा अग्लो स्थानमा रहेको सो हिमताल हरेक वर्ष दुई मिटरका दरले पातलिँंदै गएको र सन् १९९० देखि सो पातलिनेक्रम झन् तीव्र भएको कुरा अध्ययनले देखाएको छ । विगत २५ वर्षभित्र मात्र सो हिमतालको मोटाइ ५४ मिटरले घटिसकेको पनि अध्ययनले देखाएको छ । सो पातलिन थालेको हिमतालको नाम साउथकोल ग्लासियर रहेको छ ।
त्यस अध्ययनको नतिजा नेचर पोर्टफोलियो जर्नलको हालैको अंकमा प्रकाशित एक लेखमा उल्लेख गरिएको छ । सो अध्ययन टोलीमा विश्वका आठ देशका विभिन्न विधामा काम गर्ने वैज्ञानिकहरू समाविष्ट छन्, जसमा नेपालका १७ वैज्ञानिकहरूसमेत छन् । तीमध्ये सो अनुसन्धानमूलक लेखका तीनजना सहलेखकहरू इसिमोडसँग सम्बद्ध छन् ।
हिमालय क्षेत्रमा हिउँको मात्रा घट्नेक्रम डरलाग्दो किसिमले बढ्दैछ र सगरमाथालगायत अन्य हिमचुचुराहरू हिउँ पातलिनाका कारण क्रमशः नांगिन थालेका पनि उक्त अध्ययनले देखाएको छ । सो अध्ययन सगरमाथाको नेपालतिर रहेको साउथकोल ग्लासियर (हिमताल) स्थित १० मिटर लामो हिउँको टुक्राबाट लिइएको तथ्यांकमा आधारित छ । साथै सो अध्ययनका क्रममा सगरमाथास्थित ७,९४५ र ८,४३० मिटरको उचाइमा रहेको दक्षिणी भिरालोस्थित दुई स्थानमा रहेको स्वचालित मेसिनबाट प्राप्त जलवायुसम्बन्धी तथ्यांकको पनि मद्दत लिइएको छ ।
अनुसन्धानकर्ताहरूले रेडियो कार्बन पद्धतिबाट उक्त हिमताल दुई हजार वर्ष पुरानो भएको कुरा पत्ता लगाएका हुन् । अध्ययनअनुसार सो हिमताल बन्न दुई हजार वर्ष लागेको भए तापनि अहिले सो हिमताल पातलिनेक्रममा त्यसको निर्माणको क्रमभन्दा ८० गुणा बढी भएको पत्ता लागेको छ । वैज्ञानिकहरूले सगरमाथा क्षेत्रमा यसरी हिउँको सतह पातलिनुको मुख्य कारण जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रममा भएको वृद्धि हुन सक्ने कुरा औंल्याएका छन् ।
नेपालले गरेको पछिल्लो अध्ययनअनुसार सगरमाथाको उचाइ बढेर ८,८४८.८६ मिटर पुगेको छ । सगरमाथालगायतका हिमाली क्षेत्रको पानीमा यस उपमहादेशका करोडौं मानिसको जनजीविका निर्भर रहिआएको छ । यसरी हिमतालहरू फुट्ने र बिलाउनेक्रम जारी रहेमा निकट भविष्यमा हिमालयको तल्लो क्षेत्रमा बसोबास गर्ने मानिसहरूको जनजीवन निकै कष्टप्रद हुने निश्चित छ । पृथ्वीको तापक्रममा असाधारण वृद्धि र जलवायु परिवर्तन विकसित देशहरूको क्रियाकलापका कारण भएको र नेपालजस्ता विकासोन्मुख देशहरूको त्यसमा कुनै योगदान नरहे तापनि त्यसको ठूलो मूल्य चुकाउन परिरहेछ ।




















