काठमाडौंको पशुपतिनाथ मन्दिर खुल्यो, भक्तजनको भीड।

काठमाडौं:= कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर हिजो शुक्रबार बिहानदेखि भक्तजनका लागि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँको यही माघ २३ गतेको आदेश अनुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च , लगायतका स्थलमा जनस्वास्थ्य मापदण्डपालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भए अनुसार आज बिहानदेखि पशुपतिनाथ मन्दिर खुला गरिएको हो ।

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गरेको हो । विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डपालना गरेर आजदेखि पशुपतिनाथ मन्दिर खुला गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताउनुभयो । कोरोना सङ्क्रमण तेस्रो लहर बढ्न थालेपछि गत माघ ५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

मन्दिर बन्द भएपछि माघ ५ गतेदेखि बिहीबारसम्म नित्य पूजामात्र हुँदै आएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । मन्दिर आजदेखि खुलेपनि विशेष पूजा भने शनिबारदेखि सुरु गरिने उहाँले बताउनुभयो । करिब २३ दिनपछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

प्रशासनको आदेश अनुसार ५०÷५० जना भक्तजनलाई स्वास्थ्य मापदण्डपालना गरी मन्दिर प्रवेश गराइएको छ । महाशिवरात्रि नजिकिएपछि पशुपति क्षेत्रमा भक्तजनको चहलपहल पनि बढ्ने गरेको छ । यसवर्ष फागुन १७ गते महाशिवरिात्रि पर्व परेको छ । रासस