काठमाडौं:= नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने बताउनु भएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर उहाँहरुले एमसीसीप्रति आफ्नो दलको धारणा प्रष्ट पार्नुभएको हो। भेटमा प्रधानमन्त्री देउवाले एमसीसीलाई तत्काल संसदमा पेस गरेर पारित गर्नुपर्ने धारणा राख्नुभएको थियो। प्रधानमन्त्री देउवाको उक्त धारणामा अध्यक्षद्वय प्रचण्ड र नेपालले यथास्थितिमै एमसीसी पारित गराउन नसकिने भन्दै थप समय लिनुपर्ने सुझाव दिनु भएको थियो ।
प्रधानमन्त्री देउवालाई भेट्नुअघि दुई नेताले बुधबार छुट्टै छलफल गर्नुभएको थियो । दाहाल निवास खुमलटारमा भएको भेटवार्तामा गठबन्धन जोगाउने, एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध लगायतका बिषयमा छलफल भएको थियो ।
उहाँहरुले एमसीसीबारे साझा धारणा तय गरेर बिहीबार प्रधानमन्त्री देउवालाई भेट्नु भएको हो । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले एमसीसीविरुद्ध फागुन १ गतेदेखि देशव्यापी प्रदर्शन गर्ने निर्णय गरिसकेको छ। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशनले फागुन १६ भित्र एमसीसीबारे टुंगो लगाउन दबाब दिएको छ।




















