काठमाडौं:= मंगलबार दोहोरो अंकले घटेको सेयर बजार बुधबार पनि दोहोरो अंकले घटेको छ । मंगलबार १६.३० अंक घटेर बन्द भएको नेप्से बुधबार २२.०६ अंक घटेर २८१३.५२ अंकमा झरेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स ३.५१ अंक घटेको छ भने फ्लोट इन्डेक्स १.६६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४० अंक घटेको छ ।
मंगलबार छ अर्बभन्दा बढीको सेयर कारोबार भएकोमा बुधबार दुई सय २३ कम्पनीका ६५ लाख २० हजार कित्ता सेयर तीन अर्ब ४७ करोड ११ लाख नौ हजार रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । यस दिन लिबर्टी इनर्जीको सेयरमूल्य ३.०८ प्रतिशतले बढेको छ भने आरम्भ चौतारी लघुवित्तको सेयरमूल्य २.८० प्रतिशत बढेको छ तर बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्य उच्च अंकले घटेको छ ।
कारोबार भएका १३ वटै समूहको परिसूचक घटेका छन् । बैंकिङ १२.४२, व्यापार ३९.२५, होटल तथा टुरिजम २.४४, विकास बैंक ४६.२७, जलविद्युत् समूह ३२.७२, वित्त २४.८५, निर्जीवन बिमा समूह १९८.७५, उत्पादनमूलक १५.०३, अन्य ३.६१, लघुवित्त ५०.०४, जीवन बिमा १५१.०८, सामूहिक लगानी कोष ०.१२, इन्भेस्टमेन्ट समूह ०.९६ अंकले घटेका छन् । कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको १८ करोड ६१ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।




















