हिपअप तथा र्‍यापको नयाँ रियालिटी शो ‘नेपहपको श्रीपेच’को पर्खाइमा दर्शक।

काठमाडौं:= अहिले नेपाली बजारमा रियालिटी शोको दबदबा छ । एकपछि अर्को रियालिटी शो जन्मिएका छन् । विदेशी फ्रेन्चाइज शो भित्रिरहेका छन् । गायन, कमेडी, डान्सिङ रियालिटी शोले लोकप्रियता कमाइरहेका बेला अन्य केही टेलिभिजन कार्यक्रमको फ्रेन्चाइजसँगै थुप्रै नयाँ रियालिटी शोहरू नेपालमा आइरहेका छन् ।

यसैबीच युवापुस्तालाई केन्द्रित गरी हिपअप तथा र्‍यापको नयाँ रियालिटी शो ‘नेपहपको श्रीपेच’को निर्माण गरिएको छ । यसको पहिलो प्रोमो सार्वजनिक पनि भइसकेको छ । जुन लोकप्रिय बन्दै छ ।

आउँदो फागुन १६ गतेबाट ईमेल टेलिभिजनबाट प्रसारण हुने तयारीमा रहेको यो रियालिटी शोको दोस्रो प्रोमो पनि सार्वजनिक गरिएको छ । जुन प्रोमोमा पछिल्लो समयका सामाजिक सञ्जालमा भाइरल ‘माइला’को प्रस्तुति देखाइएको छ । प्रोमोमा मिस्टर डी, डेजेन र कवि-जी प्रि-जजहरूको रूपमा देखाइएको छ ।

तर यस शोको जजमा भने ‘यापर बालेन शाह, गिरिस खतिवडा र मानस घले हुनुहुन्छ । यसअघि निर्माण टिमले पहिलो प्रोमोमा फीमेल र्‍यापर फुर्दुकीलाई देखाएको थियो । जुन भिडियोले हालसम्म युट्युबमा २ लाख तीस हजार भ्युज र विभिन्न सामाजिक सञ्जालमा २० लाख भ्युज प्राप्त गरेको थियो ।

नेपालमा पहिलोपटक हुन लागेको ‘नेपहपको श्रीपेच’ र्‍याप म्युजिक रियालिटी शो हो । डि म्युजिक टिभीको प्रस्तुति रहेको उक्त शोलाई सुदीप पोख्रेल र रोशन श्रेष्ठले निर्माण गर्नुभएको हो। कार्यक्रमका लागि ८ हजारभन्दा बढीले डिजिटल अडिसनमार्फत सहभागिता जनाएका थिए जसमध्य ६ सय जनाको विभिन्न शहरमा फिजिकल अडिसन लिइएको थियो ।

अब फिजिकल अडिसनबाट छानिएका १ सय २३ जनाले श्रीपेचका लागी प्रतिस्पर्धा गर्नेछन् । ‘नेपहपको श्रीपेच’को विजेताले १० लाख र उपविजेता ले ५ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।