‘सारेगमप लिटल च्याम्प नेपाल’ को उपाधि कृपालाई।

काठमाडौं:= १६ वर्षभन्दा मुनिका बालबालिकाहरूको गायन रियालिटी शो ‘सारेगमप लिटल च्याम्प नेपाल’को पहिलो उपाधि झापाकी कृपा पौडेल जित्नुभएको छ । अन्तिम पाँच प्रतिस्पर्धीलाई पछि पार्दै पौडेलले उपाधिसँगै नगद १६ लाख जित्नुभयो ।

नेपालको गायन रियालिटी शोको फष्ट रनरअप झापाकी रोशा फुयाँल, दोस्रो रनरअप भारत सिलगुडीका आदित्य विश्वकर्मा हुनुभएको छ । पहिलो र दोस्रो रनरअपले क्रमश सिद्धार्थ बैंकका तर्फबाट ४ लाख र ३ लाख प्राप्त गर्नुभयो ।

नोवर्डी प्रोडक्सनले भारतको जी ग्रुपसँग फ्रेन्चाइजी लिएर नेपाल भित्राएको रियालिटी सोको अन्तिम प्रतिस्पर्धासम्म पुगेका पर्वतका अरुण परियार र भक्तपुरकी अविक्षा घिमिरे पनि उत्कृष्ट पुरस्कार जित्नुभएको छ ।

कार्यक्रमको अन्तिम पाँच प्रतिस्पर्धीलाई तीन–तीनवटा गीत रेकर्ड तथा म्युजिक भिडियो, नेपालका साथै वर्ड टुर तथा कक्षा १२ सम्मको अध्ययनको व्यवस्था आयोजकले मिलाउनेछ । कार्यक्रमको डिजिटल र फिजिकल अडिसनमा देश विदेशका ३० हजारभन्दा बढी प्रतिस्पर्धी सहभागी भएका थिए ।

सहभागीमध्येबाट मेगा अडिसनमा छानिएका ६० जनाबाट ग्राण्ड अडिसनमा ३५ जना र ग्राण्ड प्रिमियरमा १५ जना पुगेका थिए । कार्यक्रमको निर्णायकमा न्हृयु बज्राचार्य, कालिप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहनुभएको थियो । त्यस्तै १५ जना चर्चित गायकहरू पनि ग्राण्ड जुरीका रूपमा भूमिकामा हुनुहुन्थ्यो ।