पेरिस:= फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लिलमाथि उसकै मैदानमा ५-१ को जित हात पारेको छ । पिएसजीको फराकिलो जितमा ड्यानिलो पेरेइराले दुई तथा प्रेसनेल किमपेम्वे, लियोनल मेस्सी र केलियन एम्बाप्पेले समान १-१ गोल गर्नुभयो । लिलका स्भेन बोटमानले एक गोल फर्काउनुभएको थियो ।
आइतबार राति भएको खेलको १०औँ मिनेटमा ड्यानिलो पेरेइराले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको थियो । २८औँ मिनेटमा लिलका स्भेन बोटमानले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा पुर्याउनुभयो ।
३२ औँ मिनेटमा प्रेसनेल किमपेम्वेले मेस्सीको पासमा गोल गर्दै पिएसजीलाई पुनः अग्रता दिलाउनुभयो । ३८औँ मिनेटमा मेस्सीले नै गोल गर्दै पिएसजीलाई ३-१ ले अघि बढाउनुभयो । लिग वानमा मेस्सीको यो दोस्रो गोल हो । ५१औँ मिनेटमा पेरेइराले व्यक्तिगत दोस्रो गोल गर्नुभयो । ६७औँ मिनेटमा केलियन एमबाप्पेले मार्काे भेराट्टीको पासमा गोल गर्दै पिएसजीलाई ५-१ को सानदार जित दिलाउनुभयो ।
यो सानदार जितसँगै पिएसजीले शीर्ष स्थानमा रहँदै १३ अंकको स्पष्ट अग्रता बनाएको छ । पिएसजीको २३ खेलबाट ५६ अंक पुगेको समान खेलबाटै दोस्रो स्थानमा रहेको मार्सेको ४३ अंक छ । पराजित लिल ३२ अंक जोडेर ११औँ स्थानमा रहेको छ ।




















