छायांकनमा नेपाली चलचित्र ‘तिमी कस्को’

काठमाडौं := पाल्म फिलिम्स प्रालिको व्यानरमा हर्षिका इन्टरटेन्मेन्टको सहकार्यमा बन्दै गरेको नेपाली चलचित्र ‘तिमी कस्को’को छायांकन भइरहेको छ । गएको बुधबारदेखि तेह्रथुममा भइरहेको छायांकनमा नायक प्रदीप गिरी, अर्जुन थापा, टेकेन्द्र न्यौपाने, स्वहन प्रतापसँगै हर्षिका श्रेष्ठ, रिहा श्रेष्ठ र प्रीतिका शर्मालगायत कलाकारले ‘सर्ट’ दिइरहनुभएको छ । चलचित्रको शुभमुहूर्त लालीगुराँस नगरपालिकाको उपप्रमुख तिला पोखरेलले गर्नुभएको थियो ।

तेह्रथुमको पर्यटन प्रवद्र्धन गर्ने प्रमुख उद्देश्यसहित लालिगुरास नगरपालिका क्षेत्रमा छायांकन सुरु गरिएको चलचित्रमा स्थानीय जनजीवनलाई चलचित्रमा समेटेर स्थानीय कलाकारलाई पनि प्रवद्र्धन गरिने चलचित्रका निर्देशक तथा निर्माता जीवन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार युवालाई स्वदेशमै केही गर्न सकिने प्रेरणा चलचित्रले बोकेको छ ।

देव महर्जनको द्वन्द्व निर्देशनमा निर्माण हुने यस चलचित्रको अन्य कलाकारहरूमा लक्ष्मीनाथ तिम्सिना, टिआर सेनेहाङ, चन्दा कुरूम्बाङ, रविकिरण लिम्बू, तिला पोखरेल, अमृत बास्तोला, शिखा लिम्बू, दिलकुमार लिम्बूलगायत रहनुभएको छ । बाल कलाकारमा सेक्फुङ लिम्बू, सेमी लिम्बू, सुम्जिरी लिम्बू, जोसेफ शंखर हुनुहुन्छ ।

चलचित्रमा आकाश अकुले संगीत भर्नुभएको छ । कल्पेस ओझिलको शब्दमा सचिन राई र अन्नु चौधरीले स्वर दिनुभएको छ । सुरेन लिम्बू र प्रकाश पाक्सावाको छायांकनमा सुरु भएको चलचित्रको कथा जीवन श्रेष्ठले लेख्नुभएको हो । चलचत्रिमा अर्जुन थापाको पटकथा र सम्वाद रहेको छ ।

चलचित्रको च्यारेटी-सोबाट संकलित रकमको २५ प्रतिशत लालिगुरास नगरपालिका-९ सोल्मा काडेका मृगौला पीडित सुमन लिम्बूको उपचारमा सहयोग गरिने निर्देशक श्रेष्ठले बताउनुभयो । २४ वर्षीय मृगौला पीडित लिम्बू घोपा क्याम्प धरानमा उपचाररत हुनुहुन्छ ।

चलचित्रको ८० प्रतिशत छायांकन सोल्मामै गरिने र बाँकी काठमाडौंलगायत अन्य क्षेत्रमा हुनेछ । चलचित्रको करिब १ महिनामा छायांकन कार्य सकाएर नयाँ वर्ष २०७९ को पहिलो दिनमा रिलिज गरिने तयारी रहेको निर्माण पक्षले जनाएको छ ।