काठमाडौं:= सुप्रसिद्ध महान् भारतीय गायिका लता मंगेस्करको निधन भएको छ । ९२ वर्षीया मंगेस्करको आइतबार बिहान मुम्बईको क्याण्डी अस्पतालमा निधन भएको हो । २९ दिनअघि कोरोना संक्रमित भएर अस्पतालमा भर्ना हुनुभएकी उहाँको पाँच दिनअघि रिपोर्ट नेगेटिभ आएको थियो। तर, निमोनिया निको नहुँदा उहाँलाई पछिल्ला केही दिनदेखि आइसियुमा राखेर उपचार गरिएको थियो । माता सरस्वतीको वरदान प्राप्त गायिका भनेर सम्बोधन गरिने उहाँको सरस्वती पूजाकै दिन निधन भएको छ ।
उहाँ भारत रत्न, पद्म भूषण, पद्म विभूषण, दादासाहेब फाल्के अवार्डलगायत विशिष्ट अवार्डबाट विभूषित हुनुभएको थियो । उहाँलाई ‘स्वर साम्राज्ञी’ र ‘सुर कोकिला’को उपमा दिइएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गर्नुभएको छ । लताको निधनको बलिउड र संगीत क्षेत्र शोकमा छ । हजारौँले सामाजिक सञ्जालमा लताको योगदानको स्मरण गर्दै शोक व्यक्त गरेका छन् ।
लताको जन्म २८ सेप्टेम्बर १९२९ मा मध्यप्रदेशको इन्दोरमा भएको थियो । १३ वर्षको उमेरमा लताले १९४२ मा मराठी चलचित्र ‘पहली मंगलागौर’ मा पहिलोपटक गीत गाउनुभएको थियो । सन् १९४७ मा चलचित्र ‘आपकी सेवा’मार्फत उहाँले हिन्दी चलचित्रमा प्रवेश गर्नुभएको थियो । ८० वर्षको गायन करिअरमा उहाँले हालसम्म ३६ भाषामा ३६ हजारभन्दा बढी गीत गाइसक्नु भएको छ । उहाँले नेपाली गीत पनि गाउनुभएको छ ।

उहाँले पहिचान भने चलचित्र ‘महल’को गीत ‘आएगा आने वाला’बाट पाउनुभएको थियो । लताले पाँच वर्षको उमेरमा पिता दिनानाथबाट संगीत सिक्न थाल्नुभएको थियो । उहाँका बाबु पनि गायक हुनुहुन्थ्यो र रंगमञ्चका कलाकार पनि । साथै उहाँ मराठी भाषाका नाट्यनिर्माता पनि हुनुहुन्थ्यो । पाँचजना छोराछोरीमध्ये लता जेठी हुनुहुन्थ्यो । उहाँका भाइबहिनीहरू पनि गीत संगीत क्षेत्रमै रहनुभएको छ । लताका भाइ हृदयनाथ मंगेशकर र बहिनीहरू उषा मंगेशकर, मीना मंगेशकर र आशा भोसले सबैले गीत संगीतलाई आफ्नो करिअरको रूपमा प्रसिद्धि कमाउनुभएको छ ।
कैयौँ दशकसम्म लता भारतकी सबैभन्दा प्रसिद्ध र सबैभन्दा धेरै माग भएकी गायिका रहनुभयो । बलिउडका हरेक ठूला अभिनेत्रीहरूको सपना हुन्थ्यो कि उनीहरूले अभिनय गर्ने गीत लताले नै गाउन । लताले आफ्नो समयमा सबै प्रमुख बलिउड गायकहरूसँग गीत गाउनुभयो । यस्तै, उहाँले राज कपूरदेखि गुरुदत्त र मणिरत्नमदेखि करण जौहरसम्म हरेक प्रसिद्ध निर्देशकसँग काम गर्नुभयो । लताले एकपटक भन्नुभएको थियो, ‘म सधैँ यो मान्दै आएकी छु कि खुसीलाई संसारसँग बाँड्नुपर्छ जब कि दुःख सधैँ एक्लै सहनुपर्छ ।’
लताले धेरै नेपाली गीतमा पनि आफ्नो स्वर भर्नुभएको छ । उहाँले गाउनुभएकोे नेपाली गीतमा ‘बाँचुन्जेलीलाई…’, ‘आकाशमा तिरमिरे तारा…’, ‘जुन माटोमा मैले जन्म लिएँ…’लगायत धेरै गीत उहाँले गाउनुभएको छ। सन् २०१५ मा लताले अन्तिमपटक निखिल कामतको चलचित्र ‘डन्नो वाई २’ मा गीत गाउनुभएको थियो । त्यसबेलादेखि अहिलेसम्म उहाँ गायनबाट टाढा रहनुभएको थियो ।
लताले विवाह गर्नुभएन । यसको जवाफमा उहाँले दिनुभएको अन्र्वार्तामा भन्नुभएको थियो, ‘घरका सबै सदस्यको जिम्मेवारी मेरो काँधमा परेको थियो । जसकारण पटक–पटक विवाहको सोच आए पनि कार्यान्वयन गर्न सकिएन । मैले सानै उमेरमा काम गर्न थालेँ । मसँग धेरै काम थियो । परिवारको सबै जिम्मेवारी ममाथि परेको कारणले मेरो मनबाट बिहे गर्ने सोच नै हट्यो ।’
यस्तै, एक अन्तर्वार्तामा लताले आफ्नो बाल्यकालको सम्झना गर्दै भन्नुभएको थियो कि उहाँले कहिल्यै औपचारिक शिक्षा दीक्षा पाउनुभएन । घरमा काम गर्ने एक घरेलु कामदार महिलाले उहाँलाई मराठी अक्षर सिकाउनुभएको थियो । एक स्थानीय पुरोहितले संस्कृतको शिक्षा दिनुभएको थियो भने घर आउने आफन्त र अध्यापकहरूले अरू विषय पढाएका थिए ।
लताको निधनमा भारतमा दुई दिन राष्ट्रिय शोकको घोषणा गरिएको छ । शोकमा दुई दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भारतको सरकारले गरेको हो । यस्तै, महाराष्ट्रमा तीन दिन शोकको घोषणा गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी लतालाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न आइतबार नै मुम्बई जानुभएको थियो । लताको शवलाई मुम्बईस्थित शिवाजी पार्कमा राखिएका थियो जहाँ बलिउड सेलेबे्रटी तथा सर्वसाधारण श्रद्धाञ्जलीका लागि पुगेका थिए । महानायक अमिताभ बच्चनदेखि थुपै्र कलाकार तथा क्रिकेटर सचिन तेन्दुलकर अन्तिम श्रद्धाञ्जलीका लागि पुग्नुभएको थियो ।
जल, थल र वायु सेनाका अधिकारी, प्रधानमन्त्री मोदी, नेता-राजनेता, बलीउड र खेल क्षेत्रका व्यक्तित्वहरूले मिलेर लतालाई आखिरी अलबिदा भन्नुभएको थियो । शिवाजी पार्कमै उहाँको शवमा भारतको राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्दै अन्तिम श्रञ्द्धाजली अर्पण गरिएको थियो भने राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको थियो । भारत र नेपालसहित विश्वभरबाट मंगेशकरको निधनमा शोक व्यक्त भइरहेको छ ।
राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त
भारतकी सुप्रसिद्ध गायिक लता मंगेशकरको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारीले शोक प्रकट गर्नुभएको छ । राष्ट्रपति भण्डारीले विश्वप्रसिद्ध गायिका मंगेशकरले नेपाली गीत संगीतको क्षेत्रमा दिएको योगदानको स्मरण गर्दै शोक व्यक्त गर्नुभएको हो ।
‘धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनुभएकी भारतकी प्रख्यात गायिका लता मंगेशकरको निधनको खबरले मलाई दुःखी बनाएको छ,’ सामाजिक सञ्जालमार्फत राष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘असाधारण प्रतिभाकी धनी दिवंगत लता मंगेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’




















