[ गोपीकृष्ण चापागाईं ]
काठमाडौं:= नेपाल आइडलको पहिलो सिजनको विजेता बनेसँगै चर्चामा रहनुभएका बुद्ध लामाले अहिलेसम्म दर्जनौँ गीत गाइसक्नुभएको छ । विजेता बनेसँगै पहिलो वर्षभन्दा दोस्रो वर्षमा बुद्धका बढी गीत रेकर्ड भए । किनकि पहिलो वर्ष नेपाल आइडल टिमसँग सम्झौतामा बस्नुपर्ने हुन्थ्यो ।
अहिले पनि बुद्धको व्यस्तता उस्तै छ । नेपाल आइडलको चौथो सिजन आइपुग्दासम्म पनि बुद्धको क्रेज उस्तै छ । गायक बुद्धले भाइरल बनाउनकै लागि बनेका गीत आफूले नगाउने बताउनुभएको छ । पछिल्लो समय विभिन्न डिजिटल प्लेटफर्ममा भाइरल बनाउनका लागि त्यस्तै शब्द प्रयोग गरेर बन्ने गीत आफूले नगाउने गरेको उहाँले बताउनुभयो । ‘मैले पहिला गीतको शब्द हेर्छु, सुन्नै नराम्रो लाग्छ, अर्थ फरक लाग्ने गीतलाई गाउँदिनँ नै भन्ने गरेको छु,’ बुद्धले हिमालय टाइम्ससँग कुरा गर्दै भन्नुभयो, ‘गीतले के सन्देश दिन्छ, समाजमा कस्तो असर पार्छ त्यो कुरा बुझ्नु आवश्यक छ । अफर आएका सबै गीत गाउनुपर्छ भन्ने लाग्दैन ।’
गायक बुद्धले आफूलाई आउने अफरमध्ये निकै कम गाउने गरेको पनि बताउनुभयो । कुनै पनि गीत सुन्दा त्यसमा मिठास हुनुपर्ने उहाँको धारणा छ । पछिल्लो समय गायनसँगै अभिनयमा पनि आफूलाई अगाडि बढाउनुभएका बुद्धले अभिनय आफ्नो काम नभएको धारणा राख्नुभयो । ‘म अभिनय गर्ने कलाकार होइन, मेरो काम त गीत गाउने हो । तर पनि कुनै गीतमा रहरका कारण पनि देखिने गरेको छु,’ बुद्ध भन्नुहुन्छ, ‘साथीभाइले पनि अभिनय गर्नुहोस् राम्रो देखिएको छ भन्नुहुन्छ, त्यसैले पनि गर्ने गरेको हुँ ।’
बुद्धको स्वरमा भर्खर मात्र (तीन दिनअघि) तामाङ सेलो गीत सार्वजनिक भएको छ । जुन गीतमा बुद्धको साथमा रेश्मा तामाङको स्वर छ । गीतबारे बुद्ध भन्नुहुन्छ, ‘तामाङ सेलो त दर्शकले यसअघि अन्य धेरै हेर्नुभएको होला तर यो गीतमा राखिएका शब्दले पक्कै तान्नेछ ।’ गीतको भिडियोमा पनि बुद्ध आफैँले अभिनय गर्नुभएको छ । उहाँलाई अभिनयमा प्रियना आचार्य (मुन्नी) ले साथ दिनुभएको छ । गीतमा तीर्थ बास्कोटा र सोनम योञ्जनको शब्द छ भने संगीत बुद्धले नै भर्नुभएको हो ।




















