काठमाडौं := इन्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि मात्रै बोली लाग्ने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले मंगलबार सार्वजनिक गरेको अक्सनका लागि अन्तिम सूचीमा सन्दीपमात्रै पर्नुभएको हो ।
यही फेब्रुअरी दोस्रो साता हुने अक्सनमा नेपालका तर्फबाट सन्दीपसहित १५ खेलाडीले नाम दर्ता गराउनुभएको थियो । तर, अन्तिम सूचीमा सन्दीपले मात्रै स्थान बनाउनुभएको हो । मेगा अक्सनमा कुल एक हजार २१४ खेलाडीले नाम दर्ता गराए पनि सर्ट लिस्टमा ५९० खेलाडीमात्र परेका छन् । ३५५ अन क्याप्ड छन् । ३७० भारतीय र २२० विदेशी खेलाडी छन् ।
सन्दीपबाहेक नेपालबाट आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहितकुमार पौडेल, सुशान भारी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, शरद भेषवाकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले नाम दर्ता गराउनुभएको थियो ।
अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ (६४ लाख नेपाली रुपैयाँ) रहेको छ । यसअघि गत वर्ष पनि सन्दीपको न्यूनतम मूल्य सोही रकम थियो । यद्यपि कुनै पनि टोलीले उहाँमाथि बोली लगाएका थिएनन् । यसपटक आइपिएलमा दुई टोली थपिएका छन् । सोही कारण सन्दीपले आइपिएल खेल्ने सम्भावना बढी छ ।
सन्दीपले यसअघि तीन सिजन दिल्ली क्यापिटल्सबाट आइपिएल खेलिसक्नुभएको छ । सन्दीपलाई २०१८ मा दिल्लीले न्यूनतम मूल्य २० लाख भारुमा अनुबन्ध गरेको थियो । त्यस सिजनमा दिल्ली लिगबाट बाहिरिएपछि अन्तिम तीन खेल खेल्दै उहाँले ५ विकेट लिनुभएको थियो । २०१९ मा दिल्लीले ६ खेलमा मौका दिँदा सन्दीपले ८ विकेट लिनुभएको थियो । २०२० मा भने सन्दीपलाई दिल्लीले मौका नै दिएन । त्यसयता उहाँलाई दिल्लीले रिलिज गरेको थियो ।
१० टोलीले रिटेनमार्फत् ३३ खेलाडी यसअघि नै अनुबन्ध गरिसकेका छन् । एक टोलीले बढीमा २५ खेलाडी राख्न पाउनेछन् । जसमा आठ विदेशी खेलाडी हुनेछन् । १० विदेशी खेलाडी रिटेन भइसकेको अवस्थामा अब अक्सनमार्फत् ७० खेलाडीलाई विभिन्न टोलीले भिœयाउनेछ । आइपिएल अक्सन फेब्रुअरी १२ र १३ मा बेंगलोरमा हुनेछ ।




















