फिफा विश्वकप कतार-२०२२ को एसियन छनोटमा जापानले साउदीलाई हरायो।

टोकियो:= फिफा विश्वकप कतार २०२२ को एसियन छनोटमा जापानले साउदी अरेबियालाई पराजित गरेको छ । तेस्रो राउन्डको खेलमा जापानले शीर्ष स्थानमा रहेको साउदी अरेबियामाथि २-० को जित हात पारेको हो ।

साइतामा स्टेडियम जापानमा मंगलबार राति भएको खेलमा जापानका लागि ताकुमी मिनामिनो र जुन्या इटोले एक/एक गोल गर्नुभयो । खेलको ३२औँ मिनेटमा ताकुमी मिनामिनोको गोलबाट जापानले पहिलो हाफमा १-० को अग्रता बनायो । ५०औँ मिनेटमा जुन्या इटोले टोलीका लागि दोस्रो गोल गर्नुभयो ।

यसअघि साउदी ६ जित र १ बराबरीको नतिजा निकाल्दै अपराजित रहेपछि उसको यात्रामा जापानले पूर्णविराम लगाएको हो । यो जितपछि जापान समूह ‘बी’ मा आठ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा यथावत् रहेको छ । पराजित साउदी अरेबिया समान आठ खेलबाटै १९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

जापानसँगको हारसँगै साउदीलाई विश्वकपमा छनोट हुन अर्काे खेल नै कुर्नुपर्ने भएको छ । साउदीमाथिको जितसँगै जापानले विश्वकपमा सोझै छनोट हुने सम्भावना बलियो बनाएको छ ।