एमाले भन्छ- ‘सत्ता गठबन्धनले जानीजानी भू-राजनीतिक द्वन्द्व निम्त्याउँदैछ’
[ अनिल क्षेत्री ]
काठमाडौं:= अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पास गर्ने सम्बन्धमा रस्साकस्सी कायमै रहेका बेला सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको दौदधुप तीव्र बनेको छ । संसद्बाट एमसिसी पारित गर्ने विषयमा सत्ता गठबन्धनमा तीव्र विवाद र खटपट भएपछि बुधबार गठबन्धनका शीर्ष तीन नेता प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालबीच दुईपटक छलफल भएको छ ।
एमसिसीकै कारण सत्ता गठबन्धन नै टुट्ने परिस्थिति बन्दै गइरहेका बेला बुधबार दाहाल र नेपालसँग भएको छलफलमा प्रधानमन्त्री देउवाले एमसिसीमा सुधार गर्नुपर्ने बुँदा भए उपलब्ध गराउन आग्रह गर्नुभएको छ । छलफलपछि पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा एसका अध्यक्ष नेपालले भन्नुभयो, ‘एमसिसीका कुन–कुन कुराहरू छन् सुधार गर्नुपर्ने भनेर प्रधानमन्त्रीले सोध्नुभयो । सुधार गर्नुपर्ने कुरा उपलब्ध गराउन हामीलाई भन्नुभएको छ । एमसिसीका सन्दर्भमा बालुवाटारमा छलफल गरिएको थियो ।’ बुधबारको छलफलमा पनि माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपालले यथास्थितिमै एमसिसी पारित गरेर जान नसकिने अडान दाहोर्याएको दाहालको सचिवालयले जनाएको छ ।
एमसिसी र स्थानीय तह निर्वाचनबारे छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संसद्बाट एमसिसी पारित गर्ने विषयमा सत्तारूढ गठबन्धनभित्र तीव्र विवाद छ । यही विवादले सत्ता गठबन्धन नै टुट्ने त होइन् ? भन्ने आशंका बढ्दै गएको छ । प्रधानमन्त्री देउवा संसद्को चालु अधिवेशनबाट एमसिसी पारित गर्न कस्सिनुभएको छ । राष्ट्रियसभा निर्वाचनलगत्तै एमसिसी पारित गर्न आक्रामक ढंगले लाग्नुभएका देउवा एमसिसी पारित गर्नका लागि सहमति जुटाउन निरन्तर छलफलमा हुनुहुन्छ । संसद्को चालु अधिवेशनबाटै एमसिसी पारित गर्ने तयारीमा रहनुभएका प्रधानमन्त्री देउवाले गठबन्धनका दलहरूमाथि निरन्तर दबाब बढाइरहनु भएको छ । तर, सत्ता गठबन्धनका दलहरू माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपाल विवादित बुँदा संशोधन नगरी एमसिसी पास गर्न नहुने अडानमा हुनुहुन्छ ।
गठबन्धनमा विवाद चर्कंदै गएपछि बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाँण प्रधानमन्त्रीको दूतको रूपमा नेकपा एसका अध्यक्ष नेपालसँग भेटवार्ता गर्न उहाँकै निवास कोटेश्वर पुग्नुभएको थियो । अध्यक्ष नेपाल र गृहमन्त्री खाँणबीच एमसिसी र स्थानीय तह निर्वाचनको मितिबारे छलफल भएको नेपालको सचिवालयले जनाएको छ । यस्तै, मंगलबार प्रधानमन्त्री देउवाले दूतका रूपमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई माओवादी केन्द्रका अध्यक्ष दाहालको निवास खुमलटार पठाउनुभएको थियो । छलफलमा उपसभापति खड्का र प्रवक्ता खाँणले एमसिसी पारितको लागि अध्यक्ष दाहाललाई मनाउने प्रयास गर्नुभएको थियो ।
यसअघि शीर्ष नेताहरूबीच एमसिसीलाई संसद्बाट अनुमोदन गर्न संसद्को आगामी बैठकमा टेबुल गर्ने सहमति भएको भनिए पनि गठबन्धनका घटक माओवादी केन्द्र र नेकपा एसभित्र विरोध भइरहेको छ । गत शनिबार अध्यक्षद्वय दाहाल र नेपालले एमसिसीबारे निर्णय लिन १० दिन समय मागेकोमा अब एकसाता मात्र बाँकी छ । यही फेब्रुअरी २८ अर्थात् फागुन २ गतेभित्र संसद्बाट एमसिसी पारित गराउने देउवाको तयारी छ ।
अँध्यारो घेराभित्र राखेर गिजोल्न पाइँदैन : ज्ञवाली
एमसिसीबारे सत्ता गठबन्धनभित्र तीव्र विवाद भइरहेका बेला प्रमुख विपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमसिसी विकास परियोजना मात्र भए पनि सत्ता गठबन्धन जानीजानी भू–राजनीतिक द्वन्द्व निम्त्याइरहेको आरोप लगाउनुभएको छ । बुधबार राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा गरेको कार्यक्रममा उपमहासचिव ज्ञवालीले सत्तारूढ गठबन्धनका नेताहरूले एमसिसी परियोजनालाई भू-राजनीतिक प्रतिस्पर्धाको विषय बनाएको र एमसिसीमार्फत भू-राजनीतिक द्वन्द्व निम्त्याइरहेको आरोप लगाउनुभएको हो ।
एमसिसीलाई संसद्मा ल्याएर सांसदहरूलाई स्वविवेकले निर्णय गर्न दिनुपर्ने पक्षमा एमाले रहेको भन्दै पूर्व-परराष्ट्रमन्त्रीसमेत रहनुभएका ज्ञवालीले भन्नुभयो, ‘एमसिसी परियोजना एउटा विकास परियोजना हो । त्यसलाई लिने कि नलिने नेपालको सार्वभौम संसद्को, नेपालको राजनीतिक दलहरूको स्वेच्छिक रोजाइको विषय हो । तर, त्यो विषयलाई लिएर हामी सुनिरहेका छौँ भर्चुअल मिटिङहरू भइरहेका छन् । विदेशीको एडभाइस लिने खालका कुराहरू भइराखेका छन् । एउटा विकास परियोजनालाई जानीजानी भू-राजनीतिक प्रतिस्पर्धाको विषय बनाउने काममा सत्ता गठबन्धनकै नेताहरू लागिरहनु भएको छ । सरकार क्लियर होस् । हाम्रो प्रष्ट मान्यता छ, यो विषय संसद्मा आउनुपर्छ । र, सार्वभौमसत्ता सम्पन्न सांसदहरूले यस विषयमा आफ्नो स्वविवेकले निर्णय गर्न पाउनुपर्छ । संसद्मा आउन नदिने, बन्द कोठामा, बन्द इजलासमा तथाकथित गठबन्धनका कार्यदलहरूको त्यो अँध्यारो घेराभित्र राखेर यसलाई गिजोल्न पाइँदैन ।’
पत्रपत्रिकामा आएका कुराबाट दिमाग खराब नगर्नुहोस्, यो गठबन्धन टुट्नेवाला छैन : अध्यक्ष नेपाल
एमसिसी पारित गर्ने विषयले सत्ता गठबन्धन टुट्न सक्ने आशंका बढिरहेको बेला सत्तारूढ गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जेठमा हुने स्थानीय तह निर्वाचनमा पनि गठबन्धनका दलहरू मिलेर जाने बताउनुभएको छ । बुधबार पार्टीको विद्यार्थी संगठनले गरेको रक्तदान कार्यक्रममा अध्यक्ष नेपालले भन्नुभयो, ‘जेठमा चुनाव हुन गइरहेको छ । त्यो चुनावमा पनि गठबन्धनका दलहरू मिलेर अगाडि बढ्नेछन्, त्यसका लागि हामीले छलफल चलाइरहेका छौँ ।’ कसैले चाहना राख्दैमा गठबन्धन नटुट्ने दाबी गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘कसैले चाहना राखेका होलान्, गठबन्धन तोडौँ भनेका होलान्, गठबन्धन तोड्नुस् साथ दिन्छौँ पनि भनेका होलान् । सबै खालका कोसिस भइरहेका होलान् । तर, उनीहरूको गलत मनशाय सफल हुनेवाला छैन ।’
गठबन्धन टुट्ने सम्बन्धमा सार्वजनिक भएका समाचारबारे बुधबार बसेको शीर्ष नेताको बैठकमा छलफल भएको जानकारी दिँदै अध्यक्ष नेपालले भन्नुभयो, ‘हामीले आज पत्रपत्रिका लगायतमा आइरहेका समाचारका विषयमा गम्भीर रूपमा बसेर छलफल गर्यौँ, सत्यतथ्य के हो भनेर हामीले खुलेर कुरा गर्यौँ । सबै नेताहरूको धारणा यी सबै मनगढन्ते हुन् भन्ने नै रह्यो ।’ नेता नेपालले गठबन्धनका विषयमा बाहिर आएका विषयमा कुनै सत्यता नभएको जिकिर गर्नुभयो ।
चुनावको मिति घोषणा गर्न सरकारलाई दबाब दिने एमालेको निर्णय
यसैबीच, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तहको निर्वाचन घोषणाका लागि सरकारलाई दबाब दिने निर्णय गरेको छ । बुधबार भक्तपुरमा बसेको नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकले संविधान र कानुनअनुसार तत्काल स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिने निर्णय गरेको हो । बैठकले चुनाव घोषणाका लागि दबाबमूलक कार्यक्रम गर्न काठमाडौंमा केन्द्रीय कार्यालयको व्यवस्थापनमा कार्यकर्ता भेला गर्ने र सातै प्रदेशमा पनि कार्यकर्ता भेला गर्ने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग गर्दै एमालेको जनवर्गीय संगठनहरूले भने अहिले पनि दबाबमूलक कार्यक्रम गर्दै आएका छन् ।
चुनाव जेठ ४ मै गर्नुपर्छ : अध्यक्ष ओली
सरकारलाई निर्वाचन आयोगले आगामी जेठ ४ गते स्थानीय तह निर्वाचन गर्न गरेको सिफारिसको भोलिपल्ट प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आयोगले सिफारिस गरेको मितिमा चुनाव गर्नैपर्ने बताउनुभएको छ । बुधबार भक्तपुरमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने भन्दै आयोगले सिफारिस गरेको मितिमा चुनाव गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको हो । बैठकमा अध्यक्ष ओलीले भन्नुभयो, ‘संविधानको सही कार्यान्वयनको उत्तरदायित्व निभाउने हो भने फागुनभित्र निर्वाचन गरिसक्नुपर्ने थियो, यस सम्बन्धमा हामीले सरकारलाई पटक-पटक ध्यानाकर्षण पनि गराएका हौँ ।
तर, सरकार संविधान कार्यान्वयन र लोकतान्त्रिक अभ्यास, संघीयताको कार्यान्वयन गर्नुभन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भयो ।’ सरकारमा रहेका पार्टी र तिनका नेताहरूले २०७९ चैतमा निर्वाचन गर्छौं भन्ने खालका बकवास गरिरहेको आरोप लगाउँदै अध्यक्ष ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिभन्दा चुनाव पर सारे मान्य नहुने चेतावनीसमेत दिनुभयो । एक अर्को प्रसंगमा अध्यक्ष ओलीले २४ लाख कोरोना भाइरस विरुद्धका खोप हराउनु सानो कुरा नभएको भन्दै कठिन ढंगले प्राप्त गरेको उक्त खोप हराउनु हास्यास्पद र गम्भीर भएको बताउनुभयो ।




















