फिफा विश्वकप-२०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले कोलम्बियालाई हरायो।

लन्डन । कतारमा यसै वर्ष सुरु हुने फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले कोलम्बियालाई पराजित गरेको छ । अर्जेन्टिनाले घरेलु मैदानमा कोलम्बियालाई बुधबार बिहान भएको खेलमा १-० ले पराजित गरेको हो ।

घरेलु टोली अर्जेन्टिनाको जितमा लोउटारो मार्टिनेजले पहिलो हाफमा निर्णायक गोल गर्नुभयो । उहाँले खेलको २९औँ मिनेटमा मार्काेस एकुनाको पासमा गोल गर्नुभएको थियो । त्यसबाहेक खेलमा भएका पटक–पटकका गोलका प्रयासमा दुवै टोलीका खेलाडीहरू सफल हुन सक्नुभएन ।

४औँ मिनेटमा मिगुइल बोर्जाको पासमा लुइस डियाजको प्रहारलाई अर्जेन्टिनी डिफेन्डर लिसान्द्रो मार्टिनेजले ब्लक गरिदिनुभयो । १६औँ मिनेटमा एन्जल डि मारियाको प्रहार पोस्ट नजिकैबाट थोरै बाहिरिएको थियो । पहिलो हाफको इन्जुरी समयमा लुइस डियाजको पासमा मिगुइल बोर्जाको प्रहारलाई अर्जेन्टिनी गोलरक्षक इमिलियानो मार्टिनेजले जोगाउनुभयो ।

यो जितसँगै विश्वकपमा छनोट भइसकेको अर्जेन्टिना १५ खेलबाट ३५ अंक जोडेर दोस्रो स्थानमा यथावत् रहेको छ । अपराजित रहेको अर्जेन्टिनाले १० जित र ५ बराबरीको नतिजा निकालेको छ । अर्जेन्टिनासँगको हारसँगै कोलम्बियालाई विश्वकपमा छनोट हुने सम्भावना भने न्यून बन्दै गएको छ ।

अब छनोटको बाँकी खेलमा कोलम्बियाले जितेरमात्रै पुग्दैन । अन्य टोलीको नतिजा पनि कुर्नुपर्ने अवस्था बनेको छ । कोलम्बिया १६ खेलबाट १७ अंक जोडेर सातौँ स्थानमा रहेको छ । शीर्ष चार टोलीले सिधै तथा पाँचौँ हुने टोलीले प्ले अफको बाटो अपनाउनुपर्ने हुन्छ ।