काठमाडौं:= कोरोनाका कारण पुस महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार पुसमा ६६ हजार छ सय २५ जना श्रमिकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । गत पुसमा बाहिरिएकामध्ये ३५ हजार नौ सय ९५ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए भने अन्यले पुरानो श्रम स्वीकृति नवीकरण गरेका थिए । मंसिरमा ७४ हजार तीन सय ५४ जना विदेशिएका छन्, जुन कात्तिकभन्दा करिब साढे १९ हजारले बढी हो । हाल खाडी मुलुक कतार, साउदी अरेबिया र युएई, कुवेत, ओमानलगायतका देशमा पनि नेपाली गइरहेका छन् ।
विभागका अनुसार २०७८ वैशाखमा २४ हजार तीन सय ६३ जना विदेशिएकामा १२ हजार पाँच सय ३७ जनाले नयाँ श्रम स्वीकृति लिएकाहरू थिए । जेठमा चार हजार ८६ जना गएकोमा सात सय ८७ जनाले मात्रै नयाँ श्रम स्वीकृति लिएका थिए भने असारमा २० हजार छ सय ५८ जना गएकोमा १० हजार सात सयजनाले नयाँ श्रम स्वीकृति लिएका थिए । साउनदेखि मंसिरसम्म दुई लाख ३० हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।
साउनदेखि मंसिरसम्म वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिनेको संख्या एक लाख ३० हजार चार सय ११ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९९ हजार पाँच सय ८० रहेको छ । साउनमा २५ हजार चार सय २८ जना विदेशिएका थिए भने भदौमा २४ हजार छ सय ९२ जनाले नयाँ श्रम स्वीकृति र श्रम स्वीकृति नवीकरण गर्नेसहित ३६ हजार ४० जना गएका थिए भने असोजमा ३९ हजार छ सय ७१ जना गएको २७ हजार आठ सय २४ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए । कात्तिकमा ५४ हजार नौ सय १८ मध्ये ३० हजार १८ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए ।




















