सेयर बजारमा दोहोरो अंकको वृद्धि।

काठमाडौं := सोमबार दोहोरो अंकले घटेको सेयर बजार मंगलबार पुनः लयमा फर्किएको छ । यस दिन नेप्से १९.२९ अंकले बढेर २८९१.३३ अंकमा पुगेको छ भने ठूला कम्पनीहरूको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ३.९८ अंकले बढेर ५४२.९० अंकमा पुगेको छ । कुल दुई सय २३ कम्पनीका एक करोड २१ लाख ६७ हजार छ सय पाँच कित्ता सेयर छ अर्ब ५७ करोड ४८ लाख ४२ हजार चार सय १८ रुपैयाँमा कारोबार भएको छ भने सोमबार पाँच अर्ब १५ करोड ४१ लाख रुपैयाँको कारोबार भएको थियो ।

कारोबार भएका कुल १३ समूहगत सूचकमध्ये नौवटाको बढेको छ भने चारवटाको घटेको छ । जलविद्युत् सूचक ३.२२, विकास बैंक १.६१, म्युचुअल फन्ड १.५० र फाइनान्स समूह १.४८ प्रतिशतले बढेको छ । व्यापार, होटल, उत्पादन र जीवन बिमाको सूचक भने घटेको छ । कारोबार रकमका आधारमा नेसनल हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी ३९ करोड एक लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावर ३७.१४ करोड, अपि पावर ३५.८ करोड, अपर तामाकोशी ३४ करोड, एचआइडिसिएल ३० करोड, अरुण काबेली २४ करोड, आइएमई जनरल इन्स्योरेन्स २० करोड, फरवार्ड लघुवित्त १७.६७ करोड, जीवन विकास लघुवित्त १२.७९ करोड र नेपाल लाइफको ९.३४ करोड रुपैयाँको कारोबार भएको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै नेसनल हाइड्रोपावर ७.५०, फरवार्ड लघुवित्त ७.२५, युनाइटेड मोदी हाइड्रोपावर ५.९५ , मैैलुङखोला ५.५२, साहस ऊर्जा ५.४५, अरुण भ्याली हाइड्रोपावर ५.४३, युनियन हाइड्रोपावर ४.८७ र हिमाल दोलखा हाइड्रोपावरको ४.६४ प्रतिशतले सेयरमूल्य बढेको छ तर नेरूडे लघुवित्त वित्तीय संस्थाको भने सेयरमूल्य ३.१७ प्रतिशतले घटेको छ । मेरो माइक्रो फाइनान्स २.२८, सिभिल लघुवित्त २.१२, अजोड इन्स्योरेन्स २.०४ र ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य पनि प्रतिशतले घटेको छ ।