नाडाललाई २१ औँ ग्रान्डस्लाम उपाधि।

सिड्नी:= स्पेनीस टेनिस स्टार राफायल नाडालले कीर्तिमानी २१औँ पटक ग्रान्डस्लामको उपाधि जित्नुभएको छ । आइतबार राति अस्ट्रेलियन ओपनको उपाधि जितेसँगै नाडाल सर्वाधिक ग्रान्डस्लाम विजेता बन्नुभएको हो ।

प्रतियोगिताको छैटौँ वरीयताका नाडालले दोस्रो वरीयताका रसियन ड्यानियल मेडभेडेभलाई ३-२ को पुनरागमन जित निकाल्दै अस्ट्रेलियन ओपनको उपाधि जित्नुभएको थियो । उपाधिसँगै उहाँले स्विस रोजर फेडेरर र सर्वियन नोभाक जोकोभिचलाई पछि पार्दै कीर्तिमान रच्नुभएको हो । स्टारद्वय रोजर र नोभाकको नाममा समान २० ग्रान्डस्लाम उपाधि रहेका छन् ।

२१औँ ग्रान्डस्लाम उपाधि जित्नुभएका ३५ वर्षीय नाडाल छैटौँपटक अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गर्दै दोस्रोपटक उपाधि जित्न सफल हुनुभएको हो । यसअघि नाडालले सन् २००९ मा स्विस रोजर फेडेररलाई हराएर पहिलोपटक अस्ट्रेलियन ओपनको उपाधि जित्नुभएको थियो । त्यसयता उहाँले २०१२, २०१४, २०१७ र २०१९ मा फाइनलको यात्रा तय गर्नुभएको थियो । यद्यपि उपाधि भने उचाल्न सक्नुभएन ।

नाडालले फ्रेन्च ओपन सर्वाधिक १३ पटक, युएस ओपन चारपटक, विम्वल्डन दुईपटक र दुईपटक अस्ट्रेलियन ओपन गरी कुल २१ ग्रान्डस्लाम जित्नुभएको हो । नाडालले समग्रमा २९औँ पटक ग्रान्डस्लामको फाइनल खेल्नुभएको छ ।

मेलवर्न पार्कमा आइतबार भएको रोमाञ्चक, प्रतिस्पर्धात्मक र झण्डै ६ घण्टा चलेको खेलमा नाडालले सुरुवाती दुई सेट २-६ र ६-७ (५-७) ले गुमाउनुभएको थियो । त्यसपछि खेलमा पुनरागमन गर्नुभएका नाडालले तेस्रो र चौथो सेट समान ६-४ र ६-४ ले आफ्नो पक्षमा पार्नुभयो ।

निर्णायक तथा पाँचाँै सेटमा सुरुवाती समयमा पछि पर्नुभएका नाडालले पुनरागमन गर्दै सानदार उपाधि जित्नुभएको हो । तेस्रो गेममा १-२ ले पछि पर्नुभएका नाडालले लगातार तीन गेम जित्दै ४-२ को अग्रता लिनुभएको थियो । त्यसपछि मेदभेदेव खेलमा फर्कदै ५-५ को बराबरी गरे पनि पुनः नाडाल खेलमा फर्कदै ७-५ को जित हात पार्नुभयो ।