काठमाडौं:= साताको पहिलो दिन सय अंक माथि पुगेको सेयर बजार दोस्रो दिन सोमबार भने दोहोरो अंकले घटेको छ । यस दिन नेप्से १४.४८ अंकले घटेर २८७१.०५ अंकमा झरेको हो । दुई सय २५ कम्पनीका एक करोड एक लाख पाँच हजार छ सय ६९ कित्ता सेयर पाँच अर्ब १५ करोड ४१ लाख ७७ हजार पाँच सय ९८ रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
अन्य, लघुवित्त र इन्भेस्मेन्ट समूहबाहेक सबै सूचक घटेका छन् । बैंकिङ १९.५२, विकास बैंक ११०.१५, फाइनान्स ४३.१७, जलविद्युत् २३.०६, जीवन बिमा २२१.३२, निर्जीवन बिमा १७८.७६ अंकले घटेको छ ।तीनवटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।
फरवार्ड माइक्रोफाइनान्स, वन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ भने नेपाल टेलिकमको सेयर मूल्य पनि १५ सय ७० रुपैयाँ पुगेको छ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक ५७ करोड १२ लाख ७८ हजार ६ सय ३९ रुपैयाँको कारोबार भएको छ ।




















