लिस्बन:= पोर्चुगलमा भएको संसदीय निर्वाचनमा सत्तारुढ दल समाजवादी पार्टी नै विजयी भएको छ । प्रधानमन्त्री एन्टोनियो कोस्टाको मध्य–वामपन्थी दल सोसलिस्ट पार्टीले २३० सिटका लागि सम्पन्न संसदीय निर्वाचनमा ११७ सिट जितेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । योसँगै अघिल्लो चुनावमा १०८ सिट जितेको सत्तारुढ दलले प्रष्ट बहुमत प्राप्त गरेको छ ।
कोभिड-१९ को महामारीबीच सम्पन्न अग्रिम चुनावमा सत्तारुढ दललाई धक्का लाग्ने अपेक्षा गरिएको थियो । निर्वाचनअघि भएका मत सर्वेक्षणले समेत सत्तारुढ मध्य-वामपन्थी समाजवादी पार्टीप्रति जनसमर्थन घट्दै गएको देखाएका थिए । तर मत परिणाम भने ठीक उल्टो आएको छ । ‘प्रष्ट बहुमतको अर्थ निरपेक्ष शक्ति भन्ने होइन । यसको अर्थ एक्लै शासन गर्ने भन्ने होइन’, विजयी भएपछि प्रधानमन्त्री कोष्टाले भन्नुभयो, ‘यसको अर्थ जिम्मेवारी थपिएको र पोर्चुगलका सबै जनतासँग मिलेर सबैका लागि शासन गर्ने भन्ने हो ।’
आइतबार सम्पन्न निर्वाचनमा दक्षिणपन्थी दल चेगाले समेत यसअघिभन्दा बढी सिट जित्दै संसदमा तेस्रो ठूलो दल बनेको बीबीसीले जनाएको छ । अघिल्लो निर्वाचनमा केबल एक सिट जितेको उक्त दलले १२ सिट पुर्याएको हो । प्रमुख प्रतिपक्षी एवं मध्य-दक्षिणपन्थी दल सोसल डेमोक्रेटले ७१ स्थानमा जित हात पारेको समाचारमा उल्लेख छ ।
यता, विजयी भएसँगै राष्ट्रपति मार्सेलो रेबेलो डे सौसाले नागरिकलाई बधाई दिनुभएको छ । उहाँले भन्नुभएको छ, ‘यो निर्वाचन हाम्रा लागि विशेष अवसर थियो, हामीले कडा मेहनत गरेर यसलाई सदुपयोग गरेका छौं, सबैभन्दा सानो उमेरदेखि सबैभन्दा वृद्घसम्मलाई अब अझ राम्रो हुने भएको छ ।’
तत्कालीन संसद्ले सरकारको बजेट प्रस्ताव पारित नगरेपछि गत नोभेम्बरमा राष्ट्रपति सौसाले संसद् विघटन गर्दै निर्वाचन घोषणा गर्नुभएको थियो । बजेट पारित गर्न गत अक्टोबर २७ मा संसदमा मतदान भएको थियो । सत्तारुढ गठबन्धनमा रहेको वामपन्थी दलले सहयोग नगरेपछि बजेट पारित हुन सकेको थिएन । त्यसपछि सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलको इतिहासमा आठौं पटक संसद विघटन गरिएको हो ।




















