लण्डन:= सेनेगल अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । साबिक उपविजेता सेनेगलले इक्वेटेरियल गिनियामाथि ३-१ को सहज जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
क्यामरुनमा आइतबार राति भएको खेलमा सेनेगलको जितमा फामरा दिधिओउ, चेइखोउ कोउयाटे र इस्माइला सारले एक÷एक गोल गर्नुभयो । इक्वेटेरियल गिनियाका जान्निक बुयाला सामले एक गोल फर्काउनुभयो ।
खेलको २८औँ मिनेटमा फामरा दिधिओउको गोलबाट सेनेगलले पहिलो हाफमा १-० को अग्रता लिएको थियो । उहाँले साडियो मानेको पासमा गोल गर्नुभएको हो । ५६औँ मिनेटमा जान्निक बुयाला सामले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभएको थियो । उहाँले पाब्लो गानेटको पासमा गोल गर्नुभएको हो ।
६८औँ मिनेटमा चेइखोउ कोउयाटेको गोलसँगै सेनेगलले पुनः अग्रता बनायो । ७९औँ मिनेटमा इस्माइला सारले टोलीका लागि तेस्रो गोल गर्दै जित सुनिश्चित पार्नुभयो । अब सेनेगलले सेमिफाइनलमा ३ फेब्रुअरीमा बुर्किना फासोसँग खेल्नेछ ।
अर्काे क्वार्टरफाइनलमा इजिप्टले मोरक्कोमाथि २-१ को पुनरागमन जित निकाल्दै सेमिफाइनलमा स्थान बनायो । सेमिफाइनलमा अब इजिप्टले क्यामरुनको सामना गर्नेछ । इजिप्टको जितमा मोहम्मद सलाह र ट्राजिग्वेटले एक–एक गोल गर्नुभयो । मोरक्कोका सोफिएन बोउफलले एक गोल फर्काउनुभयो ।
इजिप्टका लागि मोहम्मद सलाह र ट्राजिग्वेटले एक/एक गोल गर्नुभयो । यस्तै मोरक्कोका सोफिएन बोउफलले एक गोल फर्काउनुभयो । खेलको सातौँ मिनेटमा सोफिएन बोउफलको पेनाल्टी गोलबाट पछि परेको इजिप्टले पुनरागमन जित हात पारेको हो ।
दोस्रो हाफको ५३औँ मिनेटमा कप्तान सलाहले इजिप्टका लागि बराबरी गोल फर्काउनुभयो । अतिरिक्त समयमा ट्राजिग्वेटले गोल गर्दै इजिप्टलाई २-१ को जित दिलाउनुभयो । अब फाइनल प्रवेशका लागि इजिप्टले क्यामरुनसँग २ फेब्रुअरीमा खेल्नेछ । क्यामरुनले शनिबार राति गाम्बियालाई २-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको थियो ।




















