एमसीसीलाई लिएर सत्ता गठबन्धन भित्रै दोहोरी, एमाले बन्यो रमिते।

काठमाडौं := अमेरिकन सहयोग मिलियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई लिएर सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच दोहोरी चलेको छ । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच सार्वजनिक रूपमै एमसीसीको पक्ष र विपक्षमा दोहोरी चलेको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनु भएको भट्टराई एमसीसी पारित गर्ने पक्षमा देखिनु भएको छ भने श्रेष्ठ संशोधनपछि मात्रै पारित गर्नुपर्ने धारणा सार्वजनिक रूपमा राखेपछि सत्तारुढ गठबन्धनमा दुईथरी धारणा निर्माण हुन गएको छ । जसले नेपाली कांग्रेसले नेतृत्व गरेको सत्ता गठबन्धनमा एमसीसीको विषय पेचिलो बन्न गएको देखिन्छ । ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं’ भट्टराईले सामाजिक सञ्जालमा लेख्नु भएको छ।

उहाँले अगाडि लेख्नुभएको छ, ‘सबै एकमुख भएर जनतालाई बुझाऊँ, यही बहानामा प्रतिगमन विरोधी गठबन्धन नटुटोस्, यो प्रकरण नेपालका ‘रुढीवादी कम्युनिस्ट’ का लागि घाँटीको हाड नबनोस्, देश थप कंगाल बनेर जनसंख्या अरु नघटोस्, शक्तिकेन्द्रहरूको चलखेलबाट देश बर्बाद नहोस् ।’

भट्टराईले निःसर्त एमसीसी पारित गरेर प्रतिगमन विरोधी गठबन्धन जोगाउनुपर्ने धारणा सार्वजनिक गरेपछि श्रेष्ठले भने त्यसको प्रतिवाद गर्नुभएको छ । ‘कुनै भ्रममा नपरौंः प्रमले एमसीसीसँगको सम्झौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन, आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन ।’

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं एमसीसी पारित गर्ने पक्षमा देखिएको भन्ने धारणा सार्वजनिक गरेपछि श्रेष्ठले थप प्रस्टाउने कोसिस गर्नुभएको हो । उहाँले माओवादी केन्द्रको धारणाबारे भन्नुभएको छ, ‘गठबन्धनमा एमसीसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्ने कुरा पनि सत्य होइन, कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन ।’

एससीसीबारे प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने पुरानै धारणा दोहोर्‍याएको छ । एमसीसी बारे आफ्नो प्रष्ट धारणा सार्वजनिक नगरेको एमाले यति बेला सत्तारुढ दलहरु भित्रको दोहोरी हेरिरहेको छ । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसामू सभामुख अग्नि सापकोटालाई हटाए प्रतिनिधिसभाको अवरोध खोल्ने र एमसीसीअनुमोदन गर्न सघाउने प्रस्ताव गरेको भन्ने समाचार आइरहेका बेला एमालेले आफ्नो पुरानै अडान दोहोर्‍याएको हो ।

नेपाली कांग्रेसका सभापतिसमेत रहनु भएको प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीलाई भेट्न २४ पुसमा उहाँकै निवास बालकोट पुग्नु भएको थियो । प्रधानमन्त्रीको प्रस्तावमा अध्यक्ष ओलीले उक्त प्रस्ताव राखेको भन्ने समाचार आइरहेका छन् । उक्त समाचारका सम्बन्धमा एमालेले आधिकारिक रुपमा हालसम्म कुनै फरक मत राखेको छैन ।

एमाले स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराई अहिले एमसीसी पास गर्ने वा नगर्ने भूमिकामा एमाले नरहेकोले यसबारे तत्काल निर्णय नगरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सत्ता गठबन्धन भित्र प्रष्ट धारणा नआइरहेको बेला हामीले कुनै धारणा बनाउनुको अर्थ र आवश्यक छैन, जतिबेला आवश्यक पर्छ त्यो बेला हामी हाम्रो धारणा सार्वजनिक गर्छौ ।’

प्रधानमन्त्री देउवा शुरुदेखि एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा हुनु हुन्छ भने सत्ता गठबन्धनमा सहमति जुट्न नसकिरहेको बेला आजै मात्र प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। सो क्रममा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने प्रस्ताव गर्नुभएको बुझिएको छ । ‘प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले आन्तरिक सहमति र एमसीसीका केही बुँदा संशोधन गरेर पारित गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ,’ बालुवाटार स्रोतले बतायो ।

एमसीसी पारितका लागि सदनमा दर्ता भइसकेको छ । तर, हालसम्म टेबुल गरिएको छैन । अब बस्ने बैठकमा एमसीसीलाई टेबुल गर्ने बताइएको छ ।  गठबन्धन दलकै शीर्षनेताहरूबीच एमसीसीबारे फरक फरक धारणा सार्वजनिक हुँदै आएको छ ।  एमसीसी पास नभए पाँचदलीय गठबन्धन टुट्ने अड्कलबाजीका बीच यस अघिको सत्तागठबन्धनको बैठकमै प्रधानमन्त्री देउवाले चेतावनी दिनु भएको समाचार बाहिरिएका छन् ।