राजेश हमालको स्वरमा अर्को गीत पनि रेकर्ड गरियो।

काठमाडौं:= नेपाली चलचित्र क्षेत्रको इतिहासमा तीनदशकको आसपासको अभिनय बटुल्नु भएका अभिनेता राजेश हमाल पछिल्लो समय गायनमा पनि लम्किनु भएको छ । तीन महिनाअघि पहिलो पटक ‘मन बुढो भएन’ बोलको गीत गाउनुभएका हमालले फेरि अर्को गीत गाउनुभएको छ ।

हमालले शुक्रबारमात्रै ‘गाउँले ठिटो’ बोलको नयाँ गीत रेकर्ड गराउनुभयो । हमालले गाएको नयाँ गीतमा गोविन्द भट्टको शब्द र सन्तोष श्रेष्ठको संगीत छ । गीतलाई गोपाल रसाइलीले एरेञ्ज गर्नुभएको छ ।

संगीतकार सन्तोषले आफ्नो दोस्रो गीतका लागि निकै मिहिनेत गर्नुभएको बताउनुभयो । ‘सिधै स्टुडियोमा छिर्नुभएको होइन, धेरैपटक अभ्यास गर्नुभएको छ’, सन्तोषले हिमालय टाइम्ससँग भन्नुभयो, ‘पहिलो दुई पटक हार्मुनियममा बसेर अभ्यास गर्नुभयो । त्यसपछि फेरि एरेन्ज भएपछि पनि अभ्यास गर्नुभयो ।’ उहाँका अनुसार गीतमा राजेश हमालको ‘सोलो भ्वाइस’ हुनेछ ।

संगीतकार सन्तोषले अभिनेता हमालले आफूलाई ग्रामीण भेगका दर्शकले नै हेर्दै आएको हुनाले त्यही भेगका दर्शकलाई पनि मनपर्ने गीत गाएको बताउनुभयो । उहाँका अनुसार गीत रमाइलोसँगै सन्देशमूलक छ । विदेशमा गएकालाई नेपालमै राम्रो छ, विदेश गएका फर्किउन्, यहाँका विदेश नजाउन् र गएर आएकाहरू फेरि नफर्किउन् भन्ने खालको सन्देश गीतले बोकोको संगीतकार सन्तोषले बताउनुभयो ।

ग्रामीण परिवेश आउने खालको गीत र भिडियो गर्ने राजेशको सोचअनुसार सहकार्य भएको श्रेष्ठले बताउनुभयो । गीतको भिडियोको एक साताभित्रै छायांकन हुने बताइएको छ । देवेन्द्र पाण्डेको निर्देशनमा ग्रामीण परिवेशमा तयार हुने भिडियोमा राजेश नै मुख्य भूमिकामा देखिनुहुनेछ ।