साउदीमा योगा महोत्सव, महिलाको उल्लेख्य उपस्थिति।

रियाद:= साउदी अरबमा पहिलो पटक योगा महोत्सव आयोजना गरिएको छ । किङ अब्दुल्लाह इकोनोमिक सिटीमा शनिबार आयोजना भएको सो महोत्सवमा देशभरबाट एक हजार जना अभ्यासकर्ता सहभागी भएका थिए । महोत्सवमा युवती र महिलाहरूको उल्लेख्य उपस्थिति थियो । योगा अभ्यास गर्न र प्रख्यात प्रशिक्षकहरूको विशेष प्रस्तुति हेर्न असंख्य उत्साही र योगा अभ्यासकर्ता राजधानीमा भेला भएका थिए ।

योगा हल र केन्द्रहरूले कार्यशाला र गतिविधि आयोजना गरेका थिए । केन्द्रले योगा अभ्यास, प्रतिस्पर्धा र खुला हावामा ध्यान गर्न सहभागीलाई तालिम प्रदान गरेको थियो । अल अरेवियासँगको एउटा अन्तवार्तामा साउदी योगा कमिटीका प्रमुख नोउफ बिन्ट मुहम्मद अल मारोइले भन्नुभयो, ‘दुई दशकअघि नै राजधानीका विभिन्न भागमा योगा फैलिनुको कारण यो खेलप्रतिको मोह हो ।’ साउदी राजधानी शौखिन र योगा अभ्यासकर्ताका लागि एउटा ठूलो आधार देखिन्छ । साउदीमा योगा अभ्यासकर्ता र प्रशिक्षकको संख्या दशौं हजार छ ।