काठमाडौं:= गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी फागुन ९ गते ‘क्यालिब्रेसन फ्लाइट’ गर्ने गरी तयारी रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जानकारी दिनुभएको छ । शनिबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणसँगै उहाँले यस्तो जानकारी दिनुभएको हो । मौसमले साथ दिएमा फागुन ९ गते क्यालिब्रेसन फ्लाइट र बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय उडान हुने उहाँको भनाइ छ ।
मन्त्री आलेले ढिलाइ नगर्न र क्यालिबे्रसन फ्लाइट नगरेसम्म मन्त्रालय, क्यान र आयोजनाका पदाधिकारी, टिम सदस्य दिनरात काममा खटिनसमेत निर्देशन दिनुभएको छ । लेखा समितिका सभापति भरतकुमार शाह र सांसद प्रमोदकुमार यादवले छिटो उपकरण चेकजाँच गरी उडानको तयारी गर्न आग्रह गर्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले एरोथाइको टिम काम सकेरमात्रै फर्किने र त्यसपछि परीक्षण उडान नेपाल एयरलाइन्सको ३३० ले गर्ने बताउनुभयो । एरोथाइका नेपाल प्रतिनिधि विजेन्द्र श्रेष्ठले क्यालिबे्रसन फ्लाइटका लागि सफा मौसम र कम्तीमा पाँच किलोमिटर भिजिबिलिटी चाहिने बताउनुभयो ।




















